बलिउड फिल्मका लागि नेपाल बलियो बजार हो । भलै, नेपालको कमाईले भारतीय निर्माताहरु मालामाल नहोलान् तर नेपालमा नेपाली फिल्मभन्दा बलिउड फिल्म राम्रो चल्ने गर्दछन् । हिन्दी फिल्मले नेपाली बजारबाट अर्बौं लगेको छ । तर, नेपाली फिल्मले भने भारतीय बजार नै देख्न पाएको छैन । नेपाली फिल्म भारतमा जान सके नेपाली निर्माताले पनि राहतको सास फेर्न सक्ने थिए ।
हिन्दी भाषामा डब गर्नुपर्ने, मेकिङ गुणस्तरीय चाहिने र प्रदर्शनका लागि ठूलै पापड बेल्नु पर्ने भएकाले पनि नेपाली निर्माताहरुले भारतमा फिल्म रिलिज गर्ने आँटै गर्न सकेका छैनन् । यतिबेला केही निर्माताहरु भने नेपाली फिल्मलाई हिन्दी डब गरेर भारतमा रिलिज गर्न कस्सिएका छन् । निर्माता सन्तोष सेनले फिल्म ‘प्रेमगीत ३’ लाई हिन्दीमा डब गरेर भारतका हलमा प्रदर्शन गर्दैछन् ।
.jpg)
अब अर्को फिल्म ‘प्रकाश’ लाई पनि हिन्दीमा डब गरिने भएको छ । निर्माता महेन्द्र अधिकारीले भारतका विभिन्न शहरका हलमा हिन्दी डब र नेपाली भाषामा फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिए । केही हप्तामा फिल्मको हिन्दी डबको काम सुरु हुने उनको भनाई छ । फिल्म ‘प्रेमगीत ३’ को हिन्दी डब गरेको भारतीय टिमले नै ‘प्रकाश’ को पनि हिन्दी डब गर्ने बुझिएको छ ।
यसबीच, बिहीवार यो फिल्मको डिजिटल राइट्स बिक्री भएको छ । डिएआर मुभिजले यो फिल्मको डिजिटल राइट्स खरिद गरेको हो । हालसम्मकै महंगो रकममा फिल्मको डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताए । फिल्मको नेपाल प्रदर्शन मिति भने घोषणा गरिएको छैन । केही दिनमा पोस्टर रिलिज गरेर फिल्मको प्रदर्शन मिति घोषणा गर्ने निर्माण टिमको तयारी छ ।
दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का, रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतको अभिनय छ । विकास सुवेदीको कथा रहेको यस फिल्ममा राजेश श्रेष्ठको छायांकन र जिवन थापाको सम्पादन छ । फिल्ममा दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

