.jpg)
तीन वर्षअघि प्रदर्शनमा आएको समीक्षात्मक रुपमा सफल फिल्म ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले नयाँ फिल्म ‘रबर सिटी’ को निर्देशन गर्ने भएका छन् । ६ करोडको लागतमा निर्माण हुन लागेको फिल्मका लागि मुख्य कलाकारमा शुशांक मैनालीलाई अनुबन्ध गरिएको छ । उनीसँगै विक्रम कुमार शर्मा र राधा शर्मा लम्साल पनि फिल्ममा अनुबन्ध भएको निर्देशक पौडेलले बताए ।
भुटानबाट नेपाल आएर अमेरिका पुगेका भुटानी शरणार्थीको कथामा बन्न लागेको फिल्ममा किर्तना बाँस्कोटा, अविरल थापा, भक्त रिजाल, यातिन पर्खानी र राजु पौडेलको लगानी रहनेछ । फिल्मको छायांकन अमेरिकामा हुनेछ । बाँस्कोटा प्रोडक्सन र अवेकन प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई पहिला विभिन्न फेष्टिभलमा प्रिमियर गरेपछि नेपालमा रिलिज गर्ने योजनामा निर्माण टिम छ ।
फिल्मका लागि अन्य कलाकारहरुको खोजी भइरहेको निर्देशक पौडेलले जानकारी दिए । सकेसम्म नयाँ अनुहारलाई लिएर काम गर्ने उनको योजना छ । शुशांकको अपोजिटका लागि अमेरिकामा कोही नभेटिएकाले नेपालबाटै एक अभिनेत्रीलाई छनोट गरिने बताइएको छ । १४ वर्षदेखि २५ वर्षसम्मको महिला चरित्रका लागि आउँदो डिसेम्बरमा अडिसन लिने तयारीमा निर्माण टिम छ ।
अंकित पौडेलले खिच्ने फिल्मको कथा निर्देशक पौडेलको हो । फिल्मले विश्वबजारमा नेपाली फिल्मलाई स्थापित गराउने विश्वास लिएको निर्माता थापाले बताए । अमेरिकाको ओहायो राज्यको एक्रोन शहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि शहर पुनः गुलजार बनेको थियो । ‘रबर सिटी’ ले भुटानी शरणार्थीको पुनर्वासपछिको कथालाई उठान गर्नेछ ।

