
निर्माता छविराज ओझाले पछिल्लो पटक निर्माण गरेको फिल्म ‘मंगलम’ हो । यो फिल्म प्रदर्शनमा आएसँगै उनको जीवनमा ठूलो भूकम्प आयो । शिल्पा पोखरेलसँगको झगडाले उनलाई प्रहरी चौकीदेखि अदालतसम्म पुर्यायो । अहिले पनि उनीहरुको सम्बन्ध विक्षेदको मुद्धा अदालतमा विचाराधिन रहेको छ । यो केशले गर्दा छविराजले फिल्म निर्माणलाई निरन्तरता दिन सकेका थिएनन् ।
अब भने निर्माता ओझा चार वर्षपछि फिल्म निर्माणमा फर्किने भएका छन् । यसै हप्ता आफ्नो ५७औं जन्मदिनको अवसरमा उनले नयाँ फिल्मको गीत रेकर्ड गराएका छन् । गीतमा प्रविशा अधिकारी र डेविड शंकरको स्वर रहेको छ भने दीपक शर्माको शब्द तथा संगीत छ । यसअघि छविराज निर्मित फिल्म ‘मंगलम’ को हिट गीत ‘पर्ख पर्ख मायालु’ लाई पनि दीपकले तयार पारेका थिए ।
निर्माता ओझाले फिल्म निर्देशनको जिम्मेवारी भने नवराज शर्मालाई दिएका छन् । सयभन्दा बढी फिल्ममा सहायक निर्देशक भएर काम गरिसकेका उनले यही फिल्मबाट ‘फूल फेज’ निर्देशनमा डेब्यू गर्न लागेका हुन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको र अबको दुई महिनापछि छायांकन सुरु हुने उनले बताए । फिल्मका लागि कलाकार छनोट कार्य चाँडै सुरु हुने उनको भनाई छ ।
अहिलेसम्म आफूले राम्रो फिल्म बनाउने कोशिश गरेको बताउँदै निर्माता ओझाले यसअघि नारी प्रधान फिल्म बनाएको भए पनि यसपटक युवापुस्तालाई लक्षित गर्दै फिल्म बनाउन लागेको जानकारी दिए । ‘निर्देशक नवराज शर्माको सोचमा फिल्म बन्दैछ । मेरो हिसाबमा चाहिँ फिल्म पूर्णतय लभस्टोरी हुनेछ । स्क्रिप्ट र गीत हेर्दा फिल्म राम्रो बन्छ भन्नेमा म पूर्ण विश्वस्त छु,’ छविराजले भने ।

