
नायक सुधांशु जोशी विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । फिल्ममा अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि अमेरिका भाँसिएका उनी अब फिल्म अभिनयमा फर्किने भएका छन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’ मा उनी अनुबन्ध भएका हुन् । सुधांशुले फिल्मको कथावस्तु र आफ्नो चरित्र राम्रो लागेपछि काम गर्न तयार भएको बताएका छन् ।
फिल्म ‘जाली रुमाल’ बाट नायकको रुपमा सुखद डेब्यू गरेका उनले ‘रणभूमि, हत्या, विषालु, सीमा रेखा, जय बाबा पशुपतिनाथ’ लगायतका फिल्ममा अभिनय गरेका छन् । उनले आफ्नै लगानीमा फिल्म ‘नेपाल’ समेत बनाए । यो फिल्मको असफलतापछि उनी अमेरिका हानिएका हुन् । ‘एक्स ९’ को सुटिङका लागि उनी आउँदो पुष अन्तिम साता अमेरिकाबाट नेपाल आउने तयारीमा छन् ।
नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर दाबी गरिएको यस फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही, राज कटुवाल लगायतका कलाकारहरुको अभिनय रहनेछ । विगत दुई महिनादेखि अनमोल, सौगात, पुष्प र राजले जिम र एक्सनको ट्रेनिङ लिइरहेका छन् । निर्माण टिमले चारै जनालाई पर्सनल ट्रेनर उपलब्ध गराएको छ । ट्रेनिङ चार महिना चल्नेछ ।
यो फिल्ममा बलिउड सुपरस्टार सुनिल शेट्टीलाई समेत अनुबन्ध गर्ने तयारीमा निर्माण टिम रहेको छ । उनीसँग निर्देशकसहितको टोलीले मुम्बईमा एक चरण भेट गरिसकेको छ । नेपालमा उनले एक हप्तासम्म फिल्मको छायांकन गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा निर्मल कुमार मिश्र छन् भने निर्माताहरुमा विरेन्द्र बहादुर कँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, बिदुर घन्टे र प्रदीप थापा छन् ।

