Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउथ फिल्मको हिन्दी डब नेपाल ल्याउनु गद्दारी हो : अर्जुन कुमार

फिल्मीखबर, काठमाडौं, 2021/11/28
arjun kumar
 
कोरोना महामारीका कारण लामो समय बन्द भएका सिनेमा हलहरु यसपालीको दशैंबाट पूर्ण रुपमा सञ्चालनमा आएका छन् । तर, कोरोनाको डरले दर्शक हलमा आउने-नआउने टुंगो नहुँदा दशैं र तिहार जस्तो चाडमा निर्माताहरुले फिल्म रिलिज गर्ने आँट गरेनन् । तिहारमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक तानेपछि भने निर्मातहरु फिल्म रिलिज गर्न तातेका छन् ।
 
हल व्यवसायी र वितरकहरुको संस्था नेपाल चलचित्र संघले गत असोज २१ गतेबाट हलहरु खोल्ने निर्णय गर्दै नेपाली फिल्ममाथि विदेशी फिल्म नजुधाउने र दुई हप्ताको अन्तरमा मात्र नेपाली फिल्म रिलिज गर्ने बताएको थियो । तर, आगामी पुष २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ सँग साउथ फिल्म ‘पुष्पा’ र एक हप्तापछि नेपाली फिल्म ‘चुरिफुरी’ भिड्दैछन् । 
 
‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमार साउथ फिल्मको हिन्दी डब ल्याउनु नेपाली फिल्मप्रति गद्दारी रहेको बताउँछन् । उनी भन्छन्, ‘साउथ फिल्मको हिन्दी डब जुन वितरकले ल्याउँछ, त्यो गद्दार हो । हिन्दी फिल्म आउँदा हामीले केही भनेका थिएनौं । अब साउथको हिन्दी डब ल्याएर नेपाली फिल्मलाई जिस्काउन खोज्दैछन् । ती मान्छेहरु नेपाली फिल्म क्षेत्रका लागि घातक हुन् ।’
 
पहिला आफूलाई फिल्म रिलिज गर्न उक्साउने वितरकहरुले नै अहिले आफ्नै फिल्ममाथि अरु फिल्म जुधाउन खोजेको उनको आरोप छ । तर, साउथ फिल्मको हिन्दी डबबाट आफू नतर्सिने उनी बताउँछन् । एक/दुई लाखमा हिन्दी डब नेपाल ल्याएर वितरकहरुले नेपाली निर्मातालाई तर्साउन खोजेको भए पनि नेपाली दर्शकले नेपाली फिल्मलाई नै माया गर्नेमा उनी विश्वस्त छन् ।  
Most Visited News (monthly)