
फिल्म ‘नुमाफुङ’ बाट वाहवाही बटुलेका निर्देशक नविन सुब्बा दश वर्षपछि निर्देशनमा फर्किने तयारीमा छन् । फिल्म ‘गुड बाई काठमाडौं’ पछि निर्देशनबाट टाढा रहेका उनले फिल्म ‘गाउँ आएको बाटो’ बाट निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । नेपाली फिल्मको कथ्य संरचना र शैलीको आलोचक मानिने सुब्बा अब हिजोको जस्तो फिल्म बनाए दर्शकले पनि साथ नदिने बताउँछन् ।
फिल्मको घोषणा सभामा उनले कोरोना महामारीले फिल्म निर्माणमा ठूलो परिवर्तन ल्याएको र दर्शकको रुचीमा पनि परिवर्तन आएको बताए । उनले भने- ‘महामारीपछि दर्शकको फिल्म हेर्ने रुचीमा परिवर्तन आएको छ । अब हामीले विश्वमा बनिरहेका फिल्मको स्तरमा फिल्म बनाउन सकेनौं भने घरेलू बजारमा पनि टिक्नेवाला छैनौं । यो कोरोनाले ल्याएको ठूलो परिवर्तन हो ।’
महामारीले नेपाली फिल्म क्षेत्रमा ठूलो प्रभाव छाडेर जान लागेको बताउँदै निर्देशक सुब्बाले अगाडि भने, ‘कोरोनाले प्रविधिमा नयाँ चिज आउँदैछ भने प्रदर्शन र वितरणमा पनि एकदमै ठूलो प्रभाव राख्दैछ । कोरोनाले जुन परिवर्तन लिएर आएको छ त्यसलाई नेपाली फिल्म क्षेत्रले पनि फेस गर्नुपर्ने हुन्छ । यदी यो चुनौती सामना गर्न सकिएन भने नेपाली फिल्म क्षेत्रले फड्को मार्न सक्दैन ।’
नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न मौलिक, प्रतिस्पर्धी र गुणात्मक फिल्म बनाउनु पर्ने उनी बताउँछन् । ‘अब प्रतिस्पर्धी र गुणात्मक फिल्म बनाउन सकेनौं भने हाम्रो अस्तित्व र पहिचान रहँदैन । यो अहिलेको अवस्थामा नेपाली फिल्म क्षेत्रले एकदमै चिन्ता गर्नुपर्ने अवस्था हो,’ नविन सुब्बाले भने ।

