
कांग्रेसको चौधौं अधिवेशन नजिकिँएसँगै कांग्रेस निकट नेपाली फिल्मकर्मीहरुको पनि दौडधुप सुरु भएको छ । अहिले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने काम भइरहेको छ । सात तहको चरण पूरा भएपछि महाधिवेशनबाट केन्द्रीय नेतृत्व निर्वाचित हुने भएकाले नेपाली फिल्मकर्मीहरुले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिइरहेका छन् । केही विजयी पनि भइसकेका छन् ।
चलचित्र निर्माता संघका महासचिव तथा निर्माता रोज राणा प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । प्युठानका क्षेत्रीय सभापति समेत रहेका उनी कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । फिल्म निर्देशक सम्झना उप्रेती रौनियार (मधेशी कोटा) पनि प्रदेश सभा क्षेत्र नं. १ काठमाडौंबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छन् ।
त्यस्तै, निर्देशक तथा नेपाल सांस्कृति संघका सभापति तिर्थ थापा बेशिसहर लम्जुङबाट महाधिवेशन प्रतिनिधि र चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी प्रदेश प्रतिनिधिमा काठमाडौ जिल्ला क्षेत्र नं १ प्रदेश (क) बाट विजयी भएका छन् । हेटौंडा निवासी कलाकार सुशान्त कुमार श्रेष्ठ भने मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश सभा (क) को सभापतिमा निर्विरोध चुनिएका छन् ।
कोरियोग्राफर तथा ‘इन्टु मिन्टु लण्डनमा’ की निर्देशक रिनाशा वान्तवा राई (राणा) ले पनि कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि इलाम क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी छन् । यतिबेला इलाममा रहेकी उनले गाउँ समाजको परिवेश र समाजसेवा गर्ने ध्येयले आफूलाई राजनीतिमा सक्रिय बन्न प्रेरित गरेको बताएकी छन् । उनको नयाँ फिल्म ‘आई एम ट्वान्टिवान’ प्रदर्शनको पखाईमा छ ।

