Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एलिजा र कुन्साङलाई हिँड्न जब फूल ओछ्याइयो...

फिल्मीखबर, काठमाडौं, 2021/11/23
प्रशंग फिल्म ‘घुइँचो’ को निर्माण घोषणाको हो । सोमवार नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेष्टमा फिल्मको घोषणा कार्यक्रम राखिएको थियो । सञ्चारकर्मीलाई साढे २ बजेको निम्तो पुगे पनि कार्यक्रम भने करीब एक घन्टा ढिलो सुरु भयो । कार्यक्रमलाई आकर्षक र भव्य बनाउन निर्माण टिमले विशेष तयारी गरेको थियो । रंगीचंगी बेलुनले कार्यक्रमको सभा हल सजाइएको थियो ।
 
निर्धारित समयमै निर्देशक दीपेन्द्र लामा र निर्माता रामजी दैलेखी कार्यक्रम स्थलमा पुगिसकेका थिए । फिल्ममा मुख्य भूमिकामा अनुबन्ध भएका अभिनेत्री एलिजा गौतम र नव-नायक कुन्साङ बोम्जनले भने साढे तीन बजेतिर मात्र कार्यक्रम स्थलमा प्रवेश लिए । एलिजाले कुन्साङको पाखुरामा हात राखेकी थिइन् भने कुन्साङ एलिजालाई सहज हुने गरी आफू विरालो चालमा हिँडेका थिए ।
 
aliza gautam and kunsang bomjan
 
कार्यक्रम भएको सभा हलमा एउटा रोचक दृश्य के देखिएको थियो भने ढोकाबाट स्टेजसम्म एलिजा र कुन्साङलाई हिँड्नका लागि पाँचतारे होटलको महंगो कार्पेटमाथि सयपत्रि र गुलाबको फूल ओछ्याइएको थियो । त्यति मात्र होइन, आँखामा मास्क लगाएर पुगेका उनीहरु एकसाथ कार्यक्रम स्थलमा प्रवेश गर्दा एकातिरबाट एक युवती र अर्कोतिरबाट एक युवकले फूल वर्षाएका थिए । 
 
यो दृश्य देख्दा सञ्चारकर्मीहरुबीच कानेखुसी चलेको थियो, ‘फिल्म हलमा चल्दा दर्शकहरुले पनि कलाकारका लागि यसरी नै फूल ओछ्याए त राम्रै हो ।’ नेपाली फिल्म इन्डस्ट्रीमा कामभन्दा तडकभडक र हो-हल्ला बढी हुने गरेको छ । फिल्ममा आवश्यक पर्ने लगानी होस् वा नहोस्, अरु देखाउनका लागि भने फिल्मको घोषणा धुमधाम र तडकभडकसहित गर्ने चलन निकै फस्ट्याउँदो छ ।
 
तर, नेपाली फिल्मका लागि तडकभडकसहित पाँचतारे होटलमा गरिएको फिल्मको घोषणा खासै ‘शुभ’ हुन सकेको देखिएको छैन । लाखौं खर्चिएर नेपालको पाँचतारे होटलमा घोषणा भएका ‘मे हुँ नही’, ‘रानी महल’, ‘दीपेन्द्र सरकार’, ‘कस्मिक लभ’ लगायतका फिल्ममध्ये कति निर्माण नै भएनन् भने कति अधुरैमा अड्किएका छन् । यो भीडमा ‘घुइँचो’ अपवाद सावित होस्, कामना गरौं । 
Most Visited News (monthly)