
अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग सहकार्य गरेर दुई दिने फिल्म फेस्टिभल गर्ने भएको छ । कलेजले यही मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको चावहिलस्थित हलमा फेस्टिभल गर्न लागेको हो । अस्कर कलेजले केही वर्षअघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको हो ।
‘गत साल पनि हामीले कोरोना महामारीका बीचमा पनि भर्चुअल माध्यमबाट फेस्टिभलको आयोजना गरेका थियौँ । महामारीका कारण मृतप्रायः रहेको उद्योगलाई गतिशील बनाउन यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया पाएका थियौँ,’ कलेजका प्रिन्सिपल रामराजा दाहालले भने, ‘त्यही प्रतिक्रियाले उत्साहित भएर यो साल पनि फिल्म फेस्टिभललाई निरन्तरता दिएका हौँ ।’
दाहालका अनुसार, फेस्टिभलमा अस्कर कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म पनि देखाइनेछ । कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म विश्वका धेरै फेस्टिभलमा छनोट भएका छन् । नियमित फिल्म प्रदर्शनसँगै फेस्टिभलमा फिल्म सम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्नेछ ।

