.jpg)
कोरोना महामारीका कारण थलिएको फिल्म पर्यटनलाई प्रवद्र्धन गर्न भारतको सिक्किम सरकारले आउँदो डिसेम्बरको १० देखि १४ तारिख (मंसिर २४ देखि २८ गते) सम्म राजधानी गान्तोकमा ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ को आयोजना गर्ने भएको छ । फेस्टिभलमा बलिउडसँगै नेपालका स्टार कलाकारहरुको पनि उपस्थिति रहने सिक्किम फिल्म प्रमोसन बोर्डले जनाएको छ ।
बोर्डले आइतवार सामाजिक सञ्जालमार्फत् एक पोस्टर सार्वजनिक गर्दै बलिउडबाट अभिनेत्री मलाइका अरोरा, अभिनेता अरिजीत दत्ता, निर्देशकहरु संजय पुरन सिंह, प्रियदर्शन, अभिनव कश्यप, अनन्त महादेवन लगायत फेस्टिभलमा उपस्थित हुने जानकारी दिएको छ । पोस्टरमा सबैभन्दा ठूलो तस्विर मलिकाको छ । उनलाई ‘स्टार सेलेब्रेटी र क्याम्पेनर’ को रुपमा स्थान दिइएको छ ।
पोस्टरमा नेपालबाट भुवन केसी, अनमोल केसी, दयाहाङ राई, नम्रता श्रेष्ठ, अदिति बुढाथोकी, विनय श्रेष्ठ, शिवानी गुप्ता लगायत अटाएका छन् । यसमध्ये भुवन केसी केही दिनअघि मात्र सिक्किम पुगेर फर्किएका थिए । सिक्किम सरकारले सिक्किममा खिच्ने विदेशी फिल्मलाई भारु एक करोड रुपैयाँ दिने भनेपछि उनी यसैको शिलशिलामा सिक्किम पुगेको फिल्मवृतमा व्यापक चर्चा छ ।
उक्त फेस्टिभलमा सिक्किमा खिचिएका नेपाली तथा बलिउड फिल्मको पनि प्रदर्शन हुने सिक्किम फिल्म प्रमोसन बोर्डले जनाएको छ । ‘साइनो, जार, कथा’ लगायतका नेपाली फिल्म फेस्टिभलमा प्रदर्शन हुनेछ । बलिउड फिल्म ‘ज्वेल थिफ’, ‘यारियाँ’, ‘करिब करिब सिंगल’ सँगै प्रियंका चोपडाले बनाएको नेपाली फिल्म ‘पाहुना’ पनि प्रदर्शन गरिने बोर्डले जारी गरेको पोस्टरमा उल्लेख छ ।

