
फिल्म ‘छिरिङ’ बाट निर्देशकिय यात्रा सुरु गरेका गायक यश कुमारले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । बिहीवार नायक पल शाहले करण सिंहले निर्माण गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेका थिए । निर्माण टिमले फिल्ममा पल अनुबन्ध भएको जानकारी गराए पनि निर्देशकको नाम लुकाएको थियो । प्राप्त जानकारी अनुसार, उक्त फिल्मलाई यश कुमारले निर्देशन गर्नेछन् ।
अहिलेसम्म फिल्ममा पलबाहेक अरु कलाकार फाइनल भएका छैनन् । निर्माता सिंहका अनुसार, फिल्मका लागि नायिकासँगै अन्य कलाकारको छनोट कार्य भइरहेको छ । फिल्ममा मुख्य नायिकाका लागि अहिले निर्माण टिमले दुई नायिका उपासना सिंह ठकुरी र मलिका महतसँग कुराकानी गरिरहेको जानकारी प्राप्त छ । स्रोतका अनुसार, उपासना फिल्म गर्न सकारात्मक देखिएकी छन् ।
आर.के.एस. इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने फिल्मको कथा सिंहकै छ भने पटकथा अभिमन्यु निरवीको रहनेछ । फिल्मको नाम केही दिनमा एक कार्यक्रमका बीच सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । गायक हुँदै नायक बनेका यशले ‘वीर, बाटो मुनिको फूल, आधी बाटो’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । तर, ‘बाटो मुनिको फूल’ बाहेक उनका फिल्म सफल छैनन् ।

