
राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा फिल्म बन्ने भएको छ । मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा एन्जिलाको पूर्वाञ्चल क्षेत्रीय टोलीको गोलरक्षकदेखि राष्ट्रिय फुटबल टोलीको गोलकिपरसम्मको यात्रालाई देखाइनेछ । उनले आफ्नो खेल जीवनमा गरेको संघर्ष र हासिल गरेको सफलता प्रेरणादायिक रहेकाले फिल्म बनाउने लागेको चाम्सले बताए ।
यम थापाले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । प्रेम कुमार श्रेष्ठको निर्माण रहने फिल्मको वर्किङ टाइटल ‘एन्जिला’ राखिएको छ । फिल्मको छायांकन अर्को वर्ष हुन सक्नेछ । कोरोनाले रोकिएको फिल्म ‘गोर्खा वारियर २’ को यही आइतवारबाट बाँकी छायांकन सुरु हुन लागेकाले यो फिल्म प्याकअप भएपछि एन्जिलाको जीवनीमा बन्ने फिल्मको छायांकन सुरु गरिने चाम्सले जानकारी दिए ।
फिल्ममा अभिनय गर्ने मुख्य कलाकारहरु फाइनल भइसकेका छन् । तर, निर्देशक मिलन चाम्सले फिल्मको घोषणा सभामा मात्र कलाकारको नाम सार्वजनिक गर्ने बताए । फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, फिल्ममा दयाहाङ राई र सिर्जना सुब्बा मुख्य भूमिकामा देखिँदैछन् । यो फिल्ममा एन्जिलाले पनि अभिनय गर्न सक्ने प्रवल सम्भावना रहेको बुझिएको छ ।
२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेञ्चमै सीमित भइन् । त्यसयता भने उनी नेपाली फुटबल टोलीको भरपर्दो गोलरक्षक बनेकी छन् ।

