फिल्म ‘बोबी’ की अभिनेत्री तथा निर्मात्री कविता गुरुङ लेखिका बनेकी छन् । उनले लेखेको ‘म अनि मेरो’ आत्मकथाको सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्देशक मिलन चाम्सले लोकार्पण गरे । उनले आफ्नो कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई किताबमा उतारेकी छन् ।
कविता र उमेशको प्रेमकथामा आधारित भएर फिल्म ‘बोबी’ बनेको थियो । फिल्ममा छुटेका कुराहरुलाई किताबमा समेटिएको कविताले बताइन् । उनले भनिन्, ‘साढे २ घन्टाको फिल्ममा धेरै कुरा छुटेको छ । फिल्ममा छुटेका कुराहरु किताबमा समेटेको हुँ । मैले यो किताब अहिलेको म भएर होइन कि त्यो बेलाको म भएर लेखेको छु । मैले जीवनमा भोगेका कुराहरु नै किताबमा छन् ।’

लकडाउनको समयमा आत्मकथा लेख्ने सोच आएको उनको भनाई छ । ‘किताब लेख्दै गर्दा किताब किन नलेखेको, के कारणले लेखेको भनेर खुलाउनु पर्ने रहेछ, जुन मलाई पहिला थाहै थिएन । मैले लकडाउनको समयलाई उपयोग गरेको हुँ । त्यसबेला गर्नलाई केही थिएन । अन्तै दिमाग लैजानुभन्दा आफ्नै कहानी लेख्ने निर्णय गरेँ र आज किताब प्रकाशन भएको छ,’ उनले भनिन् ।
कविता आफू व्यवसायिक राइटर नभएको र किताब किनेर पढ्न रुचाउने स्वभाव पनि आफ्नो नरहेको बताउँछिन् । न त उनले कहिल्यै आत्मकथा लेख्छु भनेर नै सोचेको थिइन् । तर, ४० वर्षको उमेरमा आएर लेखिका भएकोमा उनी खुसी छिन् । किताबले पाठकलाई आफ्नो बारेमा नजिकबाट बुझ्न सघाउने उनको भनाई छ । पुस्तकमा कविताले श्रीमानलाई विशेष स्थान दिएकी छिन् ।
‘बोबी’ सफल भएपछि यसको दोस्रो भाग (सिक्वेल) बनाउने घोषणा गरिएको थियो । तर, यो घोषणामै सीमित भएको छ । दोस्रो पार्टमा उमेशले नर्वेमा गरेको संघर्ष र त्यहाँ हासिल गरेको सफलतालाई देखाउने तयारीमा निर्देशक चाम्स थिए । कविता ‘बोबी’ को दोस्रो पार्ट बन्नेमा अझै आशावादी छिन् । यो फिल्ममा देखाइएको कविता र उमेशको प्रेमकथालाई दर्शकले निकै रुचाएका थिए ।

