कोरोना महामारीअघि भारतीय फिल्मको डरले नेपाली फिल्मको भागभाग हुने गरेको थियो । भारतका ठूला फिल्मले घोषणा गरेको मितिमा नेपाली फिल्म भिडाउने निर्माताहरुले आँटै गर्दैन थिए । बरु, बाटो छाड्नु उत्तम ठान्थे । हल पर्याप्त नपाइने र दर्शकहरु पनि नेपालीभन्दा विदेशी फिल्म हेर्न रुचाउने भएकाले निर्माताहरु जानी-जानी आफ्नै खुट्टामा आफैंले बञ्चरो हान्न चाहँदैन थिए ।
यो अवस्था अझै पनि ज्यूँकात्यूँ छ । कोरोना महामारीका कारण करीब २ वर्ष बन्द भएर दशैंबाट खुलेका हलमा बलिउड फिल्म ‘सूर्यवंशी’ ले दर्शक फर्काएपछि नेपाली निर्माताहरु आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्न तम्सिएका छन् । तर, आगामी दुई वर्षसम्म नेपाली फिल्मले राम्रो मिति भेट्न गाह्रो छ । किनकि, भारतका ठूला फिल्महरुले राम्रा मिति जति ‘बुक’ गरिसकेका छन् ।
भारतीय फिल्मले घोषणा गरेको मिति छलेर ‘चपली हाइट ३, म यस्तो गीत गाउँछु, सम्हालिन्छ कहिले मन’ जस्ता केही नेपाली फिल्मले हालसालै प्रदर्शन मिति घोषणा गरे । तर, यसै वर्षको चैत २५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘ए मेरो हजुर ४’ को भने साउथको प्रतिक्षीत फिल्म ‘केजीएफ २’ सँग भिडन्त हुने सम्भावना प्रवल देखिएको छ ।

‘ए मेरो हजुर ४’ यही वर्षको चैत २५ गतेबाट प्रदर्शनमा आउँदैछ भने साउथ सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ बैशाख १ गते (अप्रिल १४, २०२२) बाट संसारभर प्रदर्शनमा आउने तयारीमा छ । यसरी हेर्दा ‘ए मेरो हजुर ४’ ले ६ दिन मात्र सिनेमा हलमा वर्चश्व जमाउन पाउनेछ । ‘केजीएफ २’ रिलिज भएपछि हलसँगै दर्शक पनि बाँडिनेछन् । जसको असर फिल्मको व्यापारमा पर्नेछ ।
‘केजिएफ’ को पहिलो पार्टले नेपालमा आक्रामक व्यापार गरेको थियो । यो फिल्मको नेपाली दर्शकहरुले ‘ए मेरो हजुर ४’ भन्दा पनि व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । रिलिजको एक हप्तामै साउथको यति ठूलो फिल्म आउँदा ‘ए मेरो हजुर ४’ लाई घरेलु बजारबाटै लगानी उठाउन गाह्रो पर्न सक्छ । यसलाई मध्यनजर गर्दै निर्माण टिम पछाडि हट्न सक्ने कतिपयको विश्लेषण छ ।
तर, ‘ए मेरो हजुर’ आफैंमा एउटा ब्रान्ड नाम हो । यसका आफ्नै दर्शक छन् । त्यसमाथि अनमोल मुख्य भूमिकामा छन् । उनको एक झल्को हेर्नकै लागि पनि हलसम्म पुग्ने दर्शकको संख्या ठूलो छ । जसले गर्दा ‘केजीएफ २’ एक हप्तामै आउँदैमा ‘ए मेरो हजुर ४’ ले हलमा पानी पनि भन्न नपाउने अवस्था सृजना नहुन सक्छ । अब फिल्म भिडाउने वा भगाउने, त्यो त निर्माताको हातमा छ ।
झरना थापा निर्देशित फिल्ममा अनमोलको जोडीको रुपमा अभिनेत्री सुहाना थापा देखिँदैछिन् । यो फिल्मको तेस्रो सिरिजमा पनि उनीहरु एकसाथ देखिएका थिए । सञ्जय लामा खिचेको फिल्ममा सलोन बस्नेतको पनि अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको यो फिल्म यस वर्षको भदौमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेन ।

