
चलचित्र निर्देशक समाजको संयोजनमा आगामी मंसिर १ गतेदेखि ७ गतेसम्म आयोजना हुन लागेको ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम’ मा सुपरस्टार निखिल उप्रेतीले अभिनयबारे ‘मास्टर क्लास’ दिने भएका छन् । उनीसँगै कलाकार अनुप बरालले पनि अभिनयको प्रशिक्षण दिनेछन् । यो कार्यक्रम निजगढस्थित तारा इन होटलमा एक हप्तासम्म सञ्चालन हुनेछ ।
लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ्ग लगायतका विधामा प्रशिक्षण गराइने कार्यक्रममा युवराज लामाले फिल्म प्रोडक्सन, दयाराम दाहालले निर्देशन, सन्तोष श्रेष्ठले मिडिया एण्ड मार्केटिङ्ग, रक्षा सिंह राणाले सम्पादन, जनकदीप पराजुलीले मार्केटिङ्ग एन्ड ड्रिष्ट्रिब्यूशन, सामिप्य तिमल्सिनाले स्क्रिप्ट लेखन र पुरुषोत्तम प्रधानले छायांकनबारे प्रशिक्षण दिनेछन् ।
चलचित्र विकास बोर्डको आयोजना र चलचित्र तथा लोक संचार प्रवर्द्वन बोर्डको सह-आयोजनामा हुन लागेको कार्यक्रमले नेपाली फिल्मप्रति आकर्षण बढाउनुको साथै नेपाली फिल्मको प्रवर्द्वनमा ठूलो मद्दत पुग्ने निर्देशक समाजको विश्वास छ । प्रशिक्षणमा सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको गरी ३० जना प्रशिक्षार्थी रहनेछन् । युवराज लामाको प्रस्ताव यो कार्यक्रम हुन लागेको हो ।

