फिल्म होस् वा गीत-संगीत, गतिलो प्रचार-प्रसार गरिएन भने चल्दैन । यसका लागि निर्माताहरुले आफ्ना सामाग्रीलाई दर्शकसम्म पुर्याउन मिडियाको साहरा लिने गर्दछन् । जसका लागि पत्रकार सम्मेलनको आयोजना गरिन्छ । केही वर्ष अगाडिसम्म फिल्मका मात्र पत्रकार सम्मेलन हुन्थे । अचेल फिल्मभन्दा ज्यादा म्यूजिक भिडियोको सार्वजनिक गर्न पत्रकार सम्मेलन हुने गरेको पाइन्छ ।
तर, पत्रकार सम्मेलनमा पत्रकारलाई प्रवेश नै गर्न नदिइ अपमान गरेको घटना भने आजसम्म भएको र देखिएको थिएन । शनिवार अभिनेता पल शाह अभिनीत एक गीतको म्यूजिक भिडियोको सार्वजनिक कार्यक्रममा यस्तै भयो । सोल्टीमोडस्थित पाँचतारे होटल हायत प्लेसमा म्यूजिक भिडियो सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पल शाह पनि उपस्थित हुँदै थिए ।
गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको बारेमा आएको खबरपछि पल पहिलो सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेको कुराले हायत प्लेस होटलमा सञ्चारकर्मीहरुको भीड लागेको थियो । तर, पलका नजिकका मानिने केही सञ्चारकर्मीबाहेक उक्त कार्यक्रममा अरुले प्रवेश पाएनन् । होटलको गेटमा बसेका गार्डले निमन्त्रणा कार्डविना प्रवेश गर्न नमिल्ने भन्दै फिर्ता पठाइदिए ।
पलले गीतको निर्माण टिमलाई आफ्नो बारेमा नराम्रो नलेख्ने र आफू अनुकूल प्रश्न गर्नेलाई मात्र कार्यक्रममा बोलाउन पत्रकारहरुको नामलिस्ट नै दिएको र सोही अनुरुप गीतको टिमले सीमित पत्रकारलाई मात्र निमन्त्रणा कार्ड पठाएको बुझिएको छ । तर, पलको अनुहार खिच्न निमन्त्रणा कार्ड नभए पनि केही सञ्चारकर्मीहरु होटलसम्म पुगेका थिए । तर, होटलको गेटबाट भित्र छिर्न पाएनन् ।
(4).jpg)
बिहे, रिसेप्सन पार्टी, फिल्मको प्रिमियर लगायतका केही कार्यक्रमको मात्र पत्रकारहरुलाई निमन्त्रणा कार्ड पठाइने गरिएको छ । तर, निमन्त्रणा कार्ड नहुँदा पनि यस्ता कार्यक्रमहरुमा ‘प्रेस कार्ड’ देखाएर पत्रकारले प्रवेश पाउँछन् । फिल्मका गीत-ट्रेलर वा म्यूजिक भिडियोको सार्वजनिक कार्यक्रममा उपस्थितिका लागि पत्रकारलाई निमन्त्रणा कार्ड पठाइएको आजसम्म देखिएको छैन ।
छिमेकी मुलुक भारतकै कुरा गर्ने हो भने बलिउडका सुपरस्टारहरु अमिताभ बच्चन, सलमान खान, शाहरुख खान, आमिर खान लगायतले अभिनय गरेको फिल्मको गीत वा ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुनका लागि पत्रकारलाई निमन्त्रणा कार्ड पठाइँँदैन । कार्यक्रममा पत्रकारलाई बोलाउने जिम्मा मिडिया कोअर्डिनेटरलाई दिइएको हुन्छ । नेपालमा पनि यही संस्कार छ ।
तर, नेपालका नायक पल शाहको कार्यक्रममा उपस्थित हुन भने अब पत्रकारलाई निमन्त्रणा कार्ड अनिवार्य चाहिने भएको छ । नत्र प्रवेश पाइने छैन । राजेश हमालको कार्यक्रममा सहजै प्रवेश पाउने पत्रकारहरुले अब पल शाहको फिल्म वा म्यूजिक भिडियोको कार्यक्रममा जान निमन्त्रणा कार्ड पर्खिनु पर्नेछ । निमन्त्रणा कार्ड विना कार्यक्रममा गए अपमानित भएर फर्किनु पर्ने हुनसक्छ ।
गीत सार्वजनिक हुनुभन्दा अगाडि नै ‘पलको कार्यक्रममा पत्रकारले प्रवेश पाएनन्’ भनेर सञ्चारमाध्यममा समाचार आइसकेका थियो । यस विषयमा पलले भने अनविज्ञता प्रकट गरे । उनले आफ्नो कारणले कार्यक्रममा पत्रकारलाई प्रवेश गर्न नदिइएको भन्ने कुरामा कुनै पनि सत्यता नभएको स्पष्ट पारेका छन् । आफूलाई गीतको टिमले पत्रकारको नामलिस्ट देखाएको भने उनले स्वीकार गरे ।
यतिबेला पल र समीक्षाको सम्बन्धको बारेमा विभिन्न खाले चर्चा भइरहेका छन् । गत महिना यो विषय समाचार नै बन्यो । यद्यपि, पल र समीक्षा दुवैले यस विषयको खण्डन गरिसकेका छन् । तर, पल सार्वजनिक कार्यक्रममै उपस्थित भएर समीक्षासँगको सम्बन्धबारे बोलेका थिएनन् । यो कुरा उठ्ने डरले नै पलको इशारामा पत्रकारलाई उक्त कार्यक्रममा प्रवेश नदिइएको बताइन्छ ।

