
२०७६ सालको माघमा निर्देशक सुब्रतराज आचार्यले आफ्नो तेस्रो प्रोजेक्ट ‘के घर के डेरा’ को घोषणा गरेका थिए । सोही वर्षको चैतबाट फिल्मको छायांकन सुरु गर्ने उनको तयारी थियो । तर, छायांकनमा निस्कने समयमा देश कोरोना महामारीको चपेटामा पर्यो । कोरोनाका कारण करीब २ वर्ष फिल्म निर्माण गर्ने वातावरण बन्न सकेको थिएन । अब भने निर्माताहरु तात्न थालेका छन् ।
निर्देशक आचार्य आउँदो २/३ महिनाभित्र छायांकनमा निस्कने तयारीसहित फेरि एकपटक ‘के घर के डेरा’ को स्क्रिप्टमा बसेका छन् । उनलाई ‘जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराईले स्क्रिप्ट करेक्सन गर्न सघाएका छन् । सुब्रत भन्छन्, ‘स्क्रिप्टलाई थप निर्खानका लागि अहिले म र प्रदीपजी साथमा बसेर काम गरिरहेका छौं । स्क्रिप्ट नै फिल्मको मेरुदण्ड भएकाले हतार नगरी काम गर्नेछौं ।’
सरोज श्रेष्ठ र किरण महर्जनको संयुक्त लगानीमा निर्माण हुने यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, लुनिभा तुलाधर, आर्सिना भट्टराईलगायत कलाकारको अभिनय रहनेछ । ‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतिक गुरुङले फिल्मको पटकथा तयार पारेका हुन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर फिल्म निर्माण हुनेछ ।
पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर बन्न लागेको फिल्मलाई दिर्घ वीर गुरुङले खिच्नेछन् । निर्देशक आचार्यले यसअघि ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ फिल्मको निर्देशन गरिसकेका छन् भने दर्जनौँ हिट गीतको भिडियो समेत निर्देशन गरेका छन् । उनले अघिल्ला फिल्ममा आफूबाट भएका कमी-कमजोरीहरु यो फिल्ममा सुधार गर्ने बताए ।

