Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पैसा तिरेर हलमा हेरिने कलाकारहरु टिकटकमा आएर हलुका हुनु हुँदैन : रमेश उप्रेती

फिल्मीखबर, काठमाण्डौ, 2021/11/11
Ramesh Uprety
 
पछिल्लो समय नेपालमा लोकप्रिय बनेको टिकटकबाट सेलिब्रेटीहरु पनि अछुतो रहन सकेका छैनन् । दर्शकले हलमा गएर हेर्ने कलाकारहरु अहिले टिकटकमा छ्यापछ्याप्ती भेटिन्छन् । जसले गर्दा कलाकारप्रति दर्शकको चासो घट्दै गएको छ । घरमै बसेर कुनै पनि कलाकारको अभिनय टिकटकमा सित्तैमा हेर्न पाइन्छ भने दर्शकहरु किन हलसम्म जाने ? यो अहिलेको गम्भीर प्रश्न हो ।
 
अभिनेता रमेश उप्रेती टिकटक नराम्रो नभए पनि कलाकारहरुलाई रिजर्भ बस्न सुझाउँछन् । बुधवार एक कार्यक्रममा पत्रकारले सोधेको ‘कलाकारले टिकटक बनाउनु हुन्छ कि हुँदैन’ भन्ने प्रश्नमा उनले आफ्नो भनाई राख्दै भने- ‘तपाईं नेपाली फिल्म क्षेत्रलाई माया गर्नुहुन्छ र व्यवसायिक कलाकार बन्न चाहनुहुन्छ भने रिजर्भ चाहिँ बस्नुपर्छ । हरेक क्रियाकलापको टिकटक बनाउनु हुँदैन ।’ 
 
टिकटक मनोरञ्जनको साधन भएपनि पैसा तिरेर हलमा हेरिने कलाकारहरु टिकटकमा आएर हलुका हुनु राम्रो नभएको उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘म निर्माताको हैसियतमा पनि भन्दैछु । कुनै कलाकारमाथि निर्माताले विश्वास गरेर लाखौं-करोडौंमा फिल्म बनाउँछ तर त्यही कलाकारलाई फ्रिमा टिकटकमा हेर्न पाइन्छ भने दर्शक किन हलसम्म जान्छन् ? यो सोच्नुपर्ने कुरा हो ।’ 
 
फिल्म ‘ऐश्वर्य’ पछि अभिनयमा नफर्किएका नायक उप्रेती यो फिल्मको यूट्युब राइट्स बेचेर आफू नराम्रोसँग पछुताएको बताउँछन् । फिल्मको यूट्युब राइट्स ९९ वर्षका लागि बेचिने भएकाले फिल्मबाट हुने आम्दानीको रोयल्टी निर्माताले एक रुपैयाँ पनि नपाउने उनको गुनासो छ । उनले केही लाखको लोभमा करोडौंमा बनेको फिल्मको यूट्युब राइट्स नबेच्न निर्मातालाई आग्रह गरेका छन् ।
Most Visited News (monthly)