
दिपावलीलाई लक्षित गर्दै कार्तिक १९ गतेबाट प्रदर्शनमा आएको बलिउडको मल्टीस्टारर फिल्म ‘सूर्यवंशी’ ले भारतसँगै विश्वभर जबरजस्त कमाई गरिरहेको छ । भारतीय बक्सअफिसमा त फिल्मले कमाईको मामलामा रेकर्ड नै बनाएको छ । २६ करोड २९ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको फिल्मले प्रदर्शनको पाँच दिनमा सय करोडको आँकडा पार गर्न सफल भएको छ ।
दोस्रो दिन २३ करोड ८५ लाख, तेस्रो दिन २६ करोड ९४ लाख, चौंथो दिन १४ करोड ५१ लाख र पाँचौ दिन (हिजो) फिल्मले ११ करोड २२ लाख कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् । प्रदर्शनको पाँच दिनमा फिल्मको कमाई कूल १ सय २ करोड ८१ लाख पुगेको छ । कोरोना महामारीपछि भारतमै सय करोडको व्यापार गर्ने ‘सूर्यवंशी’ पहिलो फिल्म बनेको छ ।
यो फिल्मले नेपालमा समेत आक्रामक व्यापार गरिरहेको छ । नेपालमा यो फिल्मले पाँच दिनमा ३ करोडको नजिक व्यापार गरेको जानकारी प्राप्त छ । रोहित शेट्टी निर्देशित यस फिल्ममा अक्षय कुमार, कटरीना कैफ, अजय देवगन, रणवीर सिंहको अभिनय छ । फिल्ममा अक्षयको अभिनय र एक्सनलाई दर्शकले निकै रुचाएका छन् । फिल्मले भारतमै २ करोड छाप्ने अनुमान गरिएको छ ।

