.jpg)
कोरोना महामारीका कारण करीब २ वर्ष ठप्प रहेको नेपाली फिल्म क्षेत्र तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंसी’ ले चलायमान बनाएको छ । फिल्मकर्मीहरुमा पनि मनोबल बढेको छ । यो फिल्मले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरुले आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । सोमवार ‘चपली हाइट ३’ ले पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गर्यो ।
अब फिल्म ‘कबड्डी ४’ को पनि प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिएको छ । अहिले यो फिल्मको मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । अबको १५ दिनमा छायांकन सकेर काठमाडौं फर्किएपछि फिल्मको प्रदर्शन मिति घोषणा गरिने निर्माता मणिराम पोखरेलले बताए । फिल्मलाई आउँदो चैत वा बैशाखमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको स्रोत बताउँछ ।
निर्माता पोखरेलका अनुसार, फिल्मको ५० प्रतिशत छायांकन पूरा भइसकेको छ । फिल्मको सेटबाट निर्माण टिमले एक तस्विर सार्वजनिक गरेको छ, जसमा दयाहाङ राई, बुद्धि तामाङ र विजय बराल देखिएका छन् । रामबाबु गरुङले निर्देशन गरिरहेको फिल्ममा सौगात मल्ल, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय रहेको छ ।
बासुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् । फिल्मको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार छन् भने निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि. कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यो फिल्मलाई ‘कबड्डी’ को ‘फाइनल म्याच’ अर्थात् अन्तिम सिरिज भनिएको छ ।

