
सुपरस्टार सलमान खान हिन्दी फिल्मका ‘मोस्ट पपुलर’ अभिनेतामध्ये एक हुन् । उनको फ्यान फलोइङ भारतमा मात्र नभइ विश्वभर छ । नेपालका फिल्मप्रेमी दर्शकका पनि उनी फेभरेट एक्टर हुन् । भनिन्छ, ‘नेपालका शहरी क्षेत्र (विशेषगरी काठमाडौं) का युवतीहरु सलमान खानलाई रुघा लाग्दा समेत रुन्छन् रे ।’ यसबाट पनि उनी नेपालमा कति लोकप्रिय छन् भन्ने बुझ्न सकिन्छ ।
‘बीवी हो तो ऐसी’ फिल्मबाट सहायक कलाकारको रुपमा डेब्यू गरेका सलमान खानलाई अहिले बलिउड बक्सअफिसका ‘हिट मेसिन’ भन्ने गरिन्छ । उनका १० भन्दा बढी फिल्मले सय करोडभन्दा बढीको कमाई गरेका छन् । एक फिल्मबाट सय करोडको आसपास पारिश्रमिक बुझ्ने गरेका उनले पहिलो फिल्ममा चाहिँ कति पारिश्रमिक पाएका थिए त ? यो कमैलाई थाहा हुन सक्छ ।
एक अन्तर्वार्तामा सलमानले पहिलो फिल्म ‘बीवी हो तो ऐसी’ मा आफूले पारिश्रमिक स्वरुप ११ हजार रुपैयाँ पाएको बताएका छन् । यो फिल्ममा उनले आफ्नै कपडा लगाएर अभिनय गरेका थिए । फिल्ममा छोटो भूमिका भए पनि उनले दर्शकमा आफ्नो छाप छाड्न सफल भएका थिए । रेखा, फारुख शेख, बिंदू अहमको मुख्य भूमिका रहेको यो फिल्म १९८८ मा प्रदर्शनमा आएको थियो ।

