
लभस्टोरी फिल्म निर्देशनमा स्थापित नाम हो, सुदर्शन थापा । फिल्म ‘मेरो एउटा साथी छ’ बाट निर्देशकिय यात्रा सुरु गरेका उनले लभस्टोरीमा माइलस्टोन मानिने फिल्म ‘प्रेमगीत’ को समेत निर्देशन गरेका छन् । युवापुस्ताको नाडी छामेर मनछुने प्रेमकथा पस्किन सिपालु मानिने उनले ‘धन्दा’ जस्तो फरक फिल्म पनि बनाएका छन् । तर, उनलाई फापेको जनरा भने लभस्टोरी नै हो ।
उनी फेरि एकपटक आफ्नो ‘कम्फर्ट जोन’ भन्दा बाहिर निस्कने भएका छन् । उनले एक्सन जनरामा फिल्म ‘राजा’ बनाउन लागेका हुन् । झिलिमिली पर्व तिहारको अवसर पारेर उनले शुक्रवार सामाजिक सञ्जाल इन्स्टाग्राफमार्फत् फिल्मको थिम पोस्टर सार्वजनिक गरेका छन् । आउँदो माघको दोस्रो हप्ताबाट छायांकन सुरु हुने यस फिल्ममा नायक राज कटुवाल मुख्य भूमिकामा देखिनेछन् ।
फिल्मलाई परशुराम बस्नेतले निर्माण गर्नेछन् । उनी नेपाल खेलकुद माहासंघका बरिष्ठ उपाध्यक्ष, प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य तथा नेकपा एमालेका युवा नेता समेत हुन् । पहिलो पटक फिल्म निर्माणमा हात हाल्न लागेका उनले ‘राजा’ को कथावस्तु मन परेकाले लगानी गर्न लागेको बताएका छन् । फिल्मको कथा शिवम् अधिकारीले लेखिरहेका छन् ।

फिल्मका लागि राजबाहेक अन्य कलाकार फाइनल भइसकेका छैनन् । चाँडै फिल्मको औपचारिक घोषणा कार्यक्रमको आयोजना गरेर बाँकी कलाकार पनि सार्वजनिक गरिने निर्देशक थापाले बताए । राज र सुदर्शन पुराना र मिल्ने साथी हुन् । उनीहरुले केही वर्ष अगाडि एकसाथ रेस्टुरेन्ट समेत सञ्चालन गरेका थिए । तर, आजसम्म उनीहरुको फिल्ममा भने सहकार्य हुन सकेको थिएन ।

