Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तिहारका फिल्मी गीतहरु, जुन कहिल्यै पुरानो भएनन्

फिल्मीखबर, काठमाडौं, 2021/11/04
Tihar Song
 
तिज, दशैं, तिहार लगायतका ठूला चाड-पर्वलाई लक्षित गरेर वर्षेनी थुप्रै गीतहरु सार्वजनिक हुने गरेका छन् । गीत-संगीतले चाड-पर्वमा छुट्टै रौनकता थप्ने गरेको छ । तर, हरेक चाड-पर्वमा पुरानै गीतहरुको वर्चश्व छ । तिहारमा त दुई दशकभन्दा अगाडिका फिल्ममा समावेश गीतहरु नै बढी घन्कने र गाइने गरिन्छ । यहाँ हामीले तिहारका सदाबहार फिल्मी गीतहरु प्रस्तुत गरेका छौं ।
 
‘तिहारै आयो, लौ झिलिमिली
 
तिहारको छेकोमा सर्वाधिक घन्कने गीत हो यो । यो गीतले तिहार नजिकिएको आभाष गराउँछ । निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा समावेश गीतमा यादव खरेलको शब्द, शम्भूजीत बाँस्कोटाको संगीत र लोचन भट्टराई/नूतन प्रधानको स्वर छ । गीतमा अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् । हरेक वर्षको तिहारमा देउसी खेल्नेहरु यही गीत गाएर देउसी खेल्न सुरुवात गर्छन् । 
 

 
‘दियो बाली साँझको...’
 

 
तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘चिनो’ को ‘दियो बाली साँझको’ बोलको तिहार गीत पनि दशकौंदेखि दर्शकमाझ लोकप्रिय छ । जब यो गीत घन्कन थाल्छ तब तिहारले घर-आँगन टेकेको महशुस गराउँछ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर रहेको गीतको भिडियोमा स्वर्गीय सुभद्रा अधिकारी र स्वर्गीय कलाकार केशव भट्टराईको अभिनय छ । 
 
‘निधारमा लर्काएर सप्तरंगी टीको’
 

 
राजेन्द्र सलभको निर्देशनमा बनेको फिल्म ‘विजय पराजय’ मा समावेश ‘निधारैमा लर्काएर सप्तरंगी टीका’ गीतले पनि तिहारको महत्त्व झल्काउँछ । यो गीत दिनेश अधिकारीले लेखेका हुन् । गीतमा हेमलताको स्वर र शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीतमा नायकद्वय भुवन केसी, कृष्ण मल्ल र अभिनेत्री रुपा राणा फिचर छन् । गीतमा बहिनीप्रति दाईभाईको प्रेम दर्शाइएको छ ।
 
‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’
 

 
अनिल संग्रौलाद्वारा निर्देशित फिल्म ‘माइती’ मा समावेश यो गीत तिहारमा बज्ने निकै चर्चित गीत हो । आनन्द कार्की, उदित नारायण झा, दीपा झा, नगेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा लक्ष्मणले संगीत भरेका छन् । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंह फिचर यस गीतमा रिसाएकी बहिनीलाई दाजुले फकाउँदै गरेको र भाईटीका लगाउँदै गरेको परिवेश समावेश छ । 
 
‘अधरमा आज उनकै छ गीत’
 
 
तुलसी घिमिरे निर्देशित फिल्म ‘अन्याय’ को ‘अधरमा आज उनकै छ गीत’ गीतले पनि तिहारको बयान गर्छ । गीतमा मनिला सोताङ्गको आवाज छ । टीका लगाएको र तिहारको थप परिवेशलाई गीतमा समेटिएको छ । आकाश अधिकारी निर्देशित फिल्म ‘कोहिनूर’ मा समावेश गरिएको ‘यसपालिको तिहारै रमाइलो’ गीत पनि तिहारको बेला सर्वाधिक घन्किने गीतमध्येमा पर्ने गर्छ ।
 

Most Visited News (monthly)