
बलिउड सुपरस्टार कार्तिक आर्यन चाँडै साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत सुपरहिट फिल्म ‘अला वैकुन्ठपुरमलो’ को हिन्दी रिमेक ‘शहजादा’ मा लिड रोलमा देखिँदैछन् । यो फिल्ममा उनको अपोजिटमा कृति सेनन फाइनल भएकी छन् । कार्तिक र कृतिले आउँदो २५ अक्टोबरबाट ‘शहजादा’ को छायांकन सुरु गर्नेछन् । मुम्बई र दिल्लीमा विभिन्न शेड्यूलमा फिल्म खिचिनेछ ।
कार्तिकले यो फिल्मका लागि निकै महंगो पारिश्रमिक बुझेको खुलासा भएको छ । ‘शहजादा’ का लागि उनी भारतीय २१ करोडमा अनुबन्ध भएको बलिउड हंगामाले बताएको छ । एकपछि अर्को फिल्मको सफलतासँगै उनले आफ्नो पारिश्रमिक दिन-प्रतिदिन बढाइरहेका छन् । निर्माताहरुले पनि उनको मार्केट भ्यालूलाई मध्यनजर गर्दै उनले मागेकै पारिश्रमिक दिन तयार हुने गरेका छन् ।
एक सुत्रले बलिउड हंगामालाई भनेको छ- ‘कार्तिक विस्तारै बलिउडको टप नायकमा आफ्नो उपस्थिति जनाउँदैछन् । उनको बढ्दो पारिश्रमिकले यो स्पष्ट बुझ्न सकिन्छ कि उनको मार्केट भ्यालू निकै बढेको छ । कार्तिकले आफ्नो एक्सन फिल्म ‘शहजादा’ का लागि २१ करोड पारिश्रमिक बुझेका छन्, जुन उनको सिंगल थिएट्रिकल रिलिजका लागि अहिलेसम्मकै सबैभन्दा बढी हो ।’
बलिउड हंगामाका अनुसार, कार्तिक आफ्नो पारिश्रमिकलाई लिएर लचक छन् । फिल्मको शैली र मेकरको अपिल अनुसार उनी पारिश्रमिक घटाउन पनि तयार हुन्छन् । ‘शहजादा’ एक कमिर्शयल फिल्म भएको र यसले बक्सअफिसमा राम्रो कमाई गर्न सक्ने भएकाले उनले आफ्नो पारिश्रमिक कटौती नगरेका हुन् । रोहित धवनले निर्देशन गर्ने फिल्म ४ नोभेम्बर २०२२ मा रिलिज हुनेछ ।

