फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरीको समुहले पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गर्यो । ‘गाजलु’ निर्माता रोहित अधिकारीसँग यो समुहले मुनाफाको हिस्सा लिने सर्तमा काम गरेको थियो । अब रोहित र दीपकराजको समुहबीच फेरि नयाँ फिल्ममा सहकार्य हुने सम्भावना बढेको छ । हेमराज विसीले निर्देशन गर्ने गरी अहिले उनीहरु स्क्रिप्टमा छलफल गरिरहेका छन् ।
हेमराजले लेखेको कथा आफूलाई मन परेको दीपकराजले बताएका छन् । ‘अहिले हामी स्क्रिप्टमा छलफल गरिरहेका छौं । सोचे जस्तै भए हेमराज जीसँग सहकार्य हुनसक्छ,’ उनले भने, ‘अब सबै मिलेर काम नगर्ने हो भने उद्योग माथि पुग्दैन । धेरैजसो हामी आ-आफैं झगडा गरेर बस्यौं । यसले दर्शकमा राम्रो सन्देश पनि जाँदैन । त्यसैले अब फिल्ममा टिमअप गरेर अगाडि बढ्नु पर्छ ।’

हेमराजले लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरेका छन् । उता दीपकराज गिरीको समुहले कमेडी विषयमा फिल्म निर्माण गर्दै आएको छ । धार नै नमिल्ने समुहबीच कसरी सहकार्य हुनसक्छ ? भन्ने प्रश्नमा दीपकराजले भने, ‘मेकरले जुनसुकै जनरामा पनि फिल्म बनाउनु पर्छ । सबैभन्दा महत्त्वपूर्ण भनेको सब्जेट हो । आफ्नो सब्जेटमा निर्देशक कति विश्वस्त छ त्यो मुख्य कुरा हो ।’
हेमराजले निर्देशन गरेको फिल्म ‘होस्टेल’ आफूलाई निकै मनपर्ने उनी बताउँछन् । ‘सम्बोधन र घामड शेरे’ जस्तो अलग फिल्म पनि बनाएकाले आफू हेमराजसँँग सहकार्य गर्न उत्साहित रहेको उनको भनाई छ । फिल्ममा दीपकराजसँगै केदार घिमिरे र दीपाश्री निरौलाको अभिनय रहने बताइएको छ । अहिले फिल्मको पटकथामा हेमराज विसी र दीपकराजले काम गरिरहेका छन् ।
निर्माता अधिकारीले फिल्मको नाम ‘छ’ बाट वा अरु नामबाट पनि हुनसक्ने बताए । उनका अनुसार, हेमराजले राखेको वर्किङ टाइटल भने ‘छ’ बाट छैन । दीपकराज गिरीको समुहले पहिलो फिल्मदेखि नै ‘छ’ नाममा फिल्म बनाउँदै आएको छ । रोहित दोस्रो पटक हेमराज विसीसँग सहकार्य गर्नका लागि उत्साहित छन् । यसअघि उनीहरुबीच फिल्म ‘गाजलु’ मा सहकार्य भएको थियो ।

