Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत’ हेर्दा धेरै रोएको छु : अन्जु पन्त

फिल्मीखबर, काठमाडौं, 2021/11/02
नेपाली गीतसंगीत क्षेत्रकी मेलोडी क्विन भनेर चिनिने अन्जु पन्तको गायन कलाको सधैं प्रशंसा हुने गरेको छ । उनले आफ्नो स्वरको जादूले धेरैको मन जितेकी छन् । ‘माया गर मायालुले, म त अलपत्रै, तिमी रोएको पल, न विर्से तिमीलाई, जिन्दगी यो फूलै फूलको, माया एउटासँग, अधेँरी जस्तै जून विना, तिमीले पराई ठानेपछि, मलाई बाँसुरीले रुवायो’ जस्ता कयौं गीत उनका यादगार छन् । 
 
गायक करिअर र व्यक्तिगत जीवनमा अनेक आरोह-अवरोहको सामना गरेकी अन्जु आज यस्तो स्थानमा पुगेकी छन्, जुन धेरैका लागि सपना हो । मिलनसार, सालिन र भद्र स्वभावका लागि पनि परिचित उनले ‘अञ्जु पन्त फाउन्डेसन’ बाट सामाजिक काम पनि गर्दै आएकी छन् । दिनमै ३ वटासम्म गीतको रेकर्ड गर्न भ्याउने उनले आजसम्म २ हजारभन्दा बढी गीत गाइसकेकी छन् । 
 
anju panta
 
उनले सयौं फिल्मका गीतमा समेत स्वर दिएकी छन् । उनी आफैं पनि फिल्मप्रेमी हुन् । फुर्सदको समयमा उनी परिवारको साथमा फिल्म हेर्न हलमै पुग्ने गरेकी छन् । उनलाई आजसम्म हेरेका फिल्ममध्ये ‘प्रेमगीत’ औधी मनपर्छ । उनले यो फिल्म ४/५ पटक हेरिसकेकी छन् । हरेक पटक हेर्दा उनको आँखाबाट आँशु खस्छ । फिल्म ‘कसले चोर्‍यो मेरो मन’ हेर्दा पनि उनी रोएकी छन् ।
 
ठूलोपर्दासँगको ‘२० प्रश्न’ मा उनले आफ्नो सबैभन्दा प्यारो मान्छे छोरी रहेको बताएकी छन् । छोरीको बुझ्ने क्षमता, नम्र बोली र अरुलाई सहायता गर्ने बानी राम्रो रहेको उनको भनाई छ । उनी आफू पनि अरुको दुःख देख्न नसक्ने बताउँछिन् । उनी भन्छिन्, ‘अरुको दुःख देख्यो भने म भावुक हुन्छ । मलाई आँशु पनि देख्नु हुँदैन । बाटोमा असाहय-असक्त देखेँ भने सेवा गरिहाल्छु ।’ 
 
उनलाई क्षमा दिन सक्ने आफ्नो खुबी सबैभन्दा राम्रो लाग्छ । तर, एउटै कुरालाई हजार पटकसम्म क्षमा दिन सक्ने भए पनि अत्ति नै भएपछि रिस उठ्ने उनले बताएकी छन् । उनी आफूले गाएका मनपर्ने गीतहरु एउटा मात्र नभएको बताउँछिन् । तर, ‘जिन्दगी यो फूलै फूलको, अधँरी जस्तै जून विनाको, मलाई बाँसुरीले रुवायो’ लगायतका गीतले भने उनमा गहिरो इम्प्रेसन छाडेका छन् । 
 
उनले बाल्यकालमा ठूलो भएपछि शिक्षक बन्ने सोचेकी थिइन् । गायिका नभएको भए आफू यही पेशामा हुनसक्ने उनको भनाई छ । उनलाई जीवनमा कहिल्यै विर्सन नसक्ने क्षण भने छोरी जन्मँदाको हो । उनी त्यो पल आफ्नो लागि स्वर्णिम रहेको बताउँछिन् । उनी भन्छिन्, ‘गाह्रो त भएको थियो । झन्डै मरेर बाँचेको थिएँ । तर, छोरीको आगमनपछि जीवनमा आएको खुसी बेग्लै थियो ।’ 
 

Most Visited News (monthly)