निर्देशक निश्चल बस्नेतलाई नेपाली फिल्मको ट्रेन्ड मेकर भन्ने गरिन्छ । उनले निर्देशन गरेको पहिलो फिल्म ‘लुट’ ले नेपाली फिल्मको रुपरेखा नै बदलिदियो । यो फिल्मले परम्परागत कथावाचन शैलीको पर्खाल मात्र भत्काएन, फिल्म कथाले चल्छ भन्ने उदाहरण पनि पेश गर्यो । ‘लुट’ ले परम्परागत हिरोको मानकलाई पनि जरैदेखि उखेल्यो । कमाईको मामलामा पनि फिल्मले इतिहास रच्यो ।
यो फिल्मपछि निश्चललाई नेपाली फिल्म क्षेत्र हाँक्ने ड्राइभर भन्न थालिएको थियो । दोस्रो फिल्मको रुपमा उनले ‘टलकजंग भर्सेस टुल्के’ बनाए । यो फिल्मबाट पनि उनले राम्रै वाहवाही बटुले । यसपछि उनले ‘लुट’ कै सिक्वेल बनाउने निर्णय गरे । तर, यसपटक उनी आलोचनाको शिकार बने । नाम मात्र बेच्न फिल्म बनाएको आरोप उनीमाथि लाग्यो । उनले पनि आफू चुकेको स्वीकार गरे ।
.jpg)
‘लुट २’ बाट घैंटोमा घाम लागेको बताउने निश्चलले यसपछि नयाँ फिल्मको निर्देशन गरेका छैनन् । बरु उनलाई फिल्म र म्यूजिक भिडियोमा अभिनय गर्न भ्याइनभ्याइ छ । बीचमा उनले केही गीतमा आफ्नो आवाज पनि भरे । कोरोना महामारीको समयमा उनले आफू निर्देशनमा कमब्याक गर्न लागेको जानकारी दिँदै सामाजिक सञ्जालमार्फत् फिल्म ‘जिन्दाबाद’ बनाउने घोषणा गरेका थिए ।
तर, अब उनले यो फिल्म तत्काल नबनाउने भएका छन् । उनले एक अन्तर्वार्तामा फिल्मको बारेमा भनेका छन्, ‘भिएफएक्सको कठिनाई र बजेटको पनि अलि बढी भएकाले म अझ राम्रोसँग तयारी गरेपछि मात्र आउँछु भनेर काम गरिरहेको छु । योसँगै केही आइडियाहरु छन्, त्यसलाई स्क्रिप्टमा बदल्न सकियो भने नयाँ केही आइपनि हाल्छ । नभए केही न केही गर्ने सोचमा भने छु ।’
‘लुट २’ पछि अभिनयमा सक्रिय रहेका निश्चल आफूलाई निर्देशनमा जस्तो सन्तुष्टि अरुमा नमिल्ने बताउँछन् । आफ्नो पहिलो प्राथमिकतामा निर्देशन पर्ने पनि उनको भनाई छ । उनी भन्छन्, ‘निर्देशनमा जति मज्जा मलाई अरुमा आउँदैन । कलाकारको रुपमा फिल्म अफर आउँदा रोल, टिम र स्क्रिप्ट हेरेर काम गर्छु । तर, मलाई निर्देशक भएरै काम गर्न मन पर्छ र सन्तुष्टि मिल्छ ।’
सही स्क्रिप्टमा सही लगानी र सही समयमा रिलिज गरे फिल्मले राम्रो कमाउने उनको तर्क छ । ‘नेपालमा फिल्मले १० करोडसम्म कमाउन सक्छ भन्ने आँकडा थियो । ‘छक्का पञ्जा’ ले १६/१७ करोडसम्म कमाएपछि नेपाली फिल्मले योभन्दा बढी कमाउन सक्छ भन्ने देखिएको छ । त्यसैले सही स्क्रिप्टमा सही लगानी गरेर सही समयमा रिलिज गरे फिल्मको व्यापार राम्रो हुन्छ,’ उनले भने ।

