Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लुट’ नआएको भए ‘छक्का पञ्जा’ पनि नआउन सक्थ्यो : दीपकराज गिरी

फिल्मीखबर, काठमाडौं, 2021/11/01
निर्देशक निश्चल बस्नेत निर्देशित सुपरहिट फिल्म ‘लुट’ ले नेपाली फिल्मको परम्परागत कथावाचन शैली नै परिवर्तन गरिदियो । त्यसअघि नेपाली फिल्मले फरक कथावस्तु पस्कन सकेको थिएन । कलाकार हुन पनि कि राजेश हमालको जस्तो शरीर कि आर्यन सिग्देलको जस्तो रुप-रंग हुनुपर्छ भन्ने मानक स्थापित थियो । तर, ‘लुट’ ले फिल्मको हिरो कथा हुन्छ भन्ने उदाहरण पेश गर्‍यो ।
 
कलाकार दीपकराज गिरी ‘लुट’ ले फिल्म इन्डस्ट्रीलाई ‘यूटर्न’ गरेको बताउँछन् । एक कार्यक्रममा निश्चलसँग एकसाथ अन्तर्वार्ता दिने क्रममा उनले भने, ‘लुट’ नआएको भए ‘छक्का पञ्जा’ पनि नआउन सक्थ्यो । ‘लुट’ नआएको भए नेपाली फिल्मको परम्परागत कथावाचन शैली परिवर्तन नहुन सक्थ्यो । यसको ब्रेकथ्रू थियो ‘लुट’ । फिल्मको हिरो कथा हुन्छ भन्ने सुरुवात यसैबाट भएको हो ।’ 
 
deepak raj giri and nischal basnet
 
‘लुट’ ले आफूहरु जस्तो मान्छे पनि हिरो हुनसक्छ भन्ने उदाहरण पेश गरेका उनको भनाई छ । उनले निर्देशक निश्चल बस्नेतको निर्देशनमा काम गर्ने इच्छा पनि व्यक्त गरे । उनी अगाडि भन्छन्, ‘कलाकार भएपछि राम्रो निर्देशकसँग काम गर्ने इच्छा हुन्छ नै । निश्चल मात्र होइन राम्रो फिल्म बनाउने सबै निर्देशकसँग फिल्ममा काम गर्ने इच्छा छ । म निश्चलका फिल्मको त ठूलो फ्यान हुँ ।’ 
 
फिल्ममा सहकार्य गर्ने विषयमा पनि निश्चलसँग कुराकानी भइरहेको उनले बताए । तर, अहिले नै ‘हामीहरु एकसाथ फिल्म गर्दैछौं’ भनेर भनिहाल्न चाहिँ धेरै नै चाँडो हुने उनको भनाई छ । फिल्मका लागि एकदमै होमवर्कको आवश्यकता पर्ने भएकाले ढिलो चाँडो आफूहरुबीच सहकार्य हुनेमा उनी विश्वस्त छन् । २/३ पटक निश्चलसँग फिल्मको बारेमा कुराकानी भएको उनी बताउँछन् ।
 
दीपकराज गिरीले अब फिल्मकर्मीहरु पहिला जस्तो प्रतिस्पर्धा गर्ने, एकले अर्कालाई प्रतिस्पर्धी मात्रै देख्ने, मेरो फिल्म मात्रै राम्रो भन्ने प्रवृतिबाट माथि उठ्नु पर्ने बताएका छन् । ‘हामी विषम परिस्थितिसँग लड्नु पर्ने अवस्थामा छौं । यस्तो बेला एउटै कर्ममा भएका मानिसहरु एउटै ठाउँमा उभिएर साथ र सहयोग गर्नुपर्छ,’ उनले भने । उनी अहिले फिल्म ‘छक्का पञ्जा ४’ को तयारीमा छन् ।
Most Visited News (monthly)