Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड फिल्म ‘उचाइँ’ को नेपाल छायांकन सकियो

फिल्मीखबर, काठमाडौं, 2021/10/30
 
बलिउड निर्देशक सुरज बडजात्याले आफ्नो नयाँ फिल्म ‘उचाइँ’ को नेपाल छायांकन पूरा गरेका छन् । ४० दिनको सेड्युलसहित उनी कलाकार र प्राविधिकको टोली लिएर नेपाल आएका थिए । छायांकनका लागि हिमाली क्षेत्र रोजेकाले मौसम भिलेन बन्न सक्ने उनको पूर्व अनुमान थियो । तर, मौसमले राम्रो साथ दिएकाले उनले २५ दिनमै फिल्मको नेपाल छायांकन प्याकअप गरेका हुन् ।
 
बुधवार मनाङमा फिल्मको पहिलो चरणको छायांकन पूरा गरेर कलाकार र प्राविधिकको टोली शुक्रवार काठमाडौं फर्किएको छ । भारतबाट कलाकारसहित १२५ जनाको टोली लिएर निर्देशक बडजात्या नेपाल आएका थिए भने ३५० जनाको ‘क्रू’ नेपालबाट थपिएको थियो । भारतबाट आएको टिम शनिवार स्वदेश फर्किने फिल्मका प्रोडक्सन डिजाइनर पुष्कर लामाले जानकारी दिए ।
 
फिल्मको छायांकनका लागि भारतीय कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसन लगायत नेपाल आएका थिए । फिल्ममा अमिताभ बच्चनको पनि अभिनय रहेको छ । तर, उनी भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । नेपालमा उनको भागको छायांकनका लागि डुब्लिकेटको प्रयोग गरिएको थियो । फिल्मले मित्रताको कथा वाचन गर्छ ।
 
फिल्ममा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु लगायतको पनि अभिनय छ । नेपालमा काठमाडौं, लुक्ला, नाम्चे, बेसीसहर र मनाङमा छायांकन भएको ‘उचाइँ’ को दोस्रो चरणको सम्पूर्ण छायांकन भारतमा हुनेछ ।
 
नेपाल ओर्लिएदेखि नै अनुपम खेर, बोमन इरानी र परिणीति चोपडाले सामाजिक सञ्जालको माध्यमबाट नेपालको प्राकृति सौन्दर्यताको खुलेर प्रशंसा गर्दै आएका छन् । अनुपमले त दिनहुँ नेपालको सुन्दरताको बारेमा भिडियो बनाएर सोसल मिडियामा पोस्ट गरेका छन् । उनले पशुपतिनाथमा दर्शन गरेपछि हिन्दूहरुको धार्मिक स्थलमा आउन पाउँदा खुसी लागेको बताएका थिए ।
Most Visited News (monthly)