कुनै समय ‘नम्बर वान’ नायकको स्थान बनाएका सुपरस्टार आर्यन सिग्देल यतिबेला एउटा हिट फिल्मको पखाईमा छन् । फिल्म ‘क्लासिक’ यता उनी अभिनीत फिल्मले बक्सअफिसमा सुखद नतिजा हात पार्न सकेका छैनन् । आफ्नो डुब्दै गरेको करिअरलाई उठाउन उनले आफ्नै लगानीमा फिल्म ‘कायरा’ समेत बनाए । तर, यो फिल्म पनि उनका लागि सञ्जीवनी बुटि सावित हुन सकेन ।
एक समय उनको नाम मात्रैले पनि फिल्म चल्छ भन्ने विश्वास निर्मातामा थियो । आफ्नो माग देखेर उनले हरेक फिल्ममा पारिश्रमिक पनि बढाउँदै लगे । अनमोल केसी र प्रदीप खड्काको आगमनभन्दा अगाडि नेपाली फिल्ममा सबैभन्दा बढी पारिश्रमिक बुझ्ने अभिनेतामा कहलिएका थिए, उनी । तर, एकपछि अर्को फिल्म पत्तासाफ हुन थालेपछि उनको पारिश्रमिक खुम्चिँदै गएको छ ।
(1)(2)(1).jpg)
करिअरको उत्कर्षमा रहँदा निर्माताबाट महंगो पारिश्रमिक बुझ्ने गरेका आर्यन पछिल्लो समय भने मुनाफाको हिस्सेदारीमा काम गर्ने गरेको बताउँछन् । हालै एक कार्यक्रममा उनले भने- ‘मैले मुनाफाको केही प्रतिशत लिने सर्तमा धेरै फिल्म गरेको छु । पछिल्लो समय मैले यसरी नै फिल्ममा काम गरिरहेको छु । फिल्म नाफामा गए ठिक छ नभए निर्माता मात्र किन डुब्ने ? म पनि तयार छु ।’
उनले आजसम्म आफूले कुनै फिल्ममा नायिका सिफारिस नगरेको पनि दाबी गरे । ‘मैले आजसम्म नायिका छान्ने र को नायिका छ भनेर सोध्ने काम गरिनँ । मैले यो कुरामा कहिल्यै दबाब दिने काम गरिनँ र कलाकारले यो गर्नु पनि हुँदैन,’ उनले अगाडि भने- ‘म पनि पहिलो प्रोजेक्ट गर्दा नयाँ नै थिएँ । जो पनि पहिला त नयाँ नै हुने हो । त्यसैले सबैलाई अवसर दिनुपर्छ जस्तो मलाई लाग्छ ।’
कोरोना महामारीका कारण फिल्म निर्माण ठप्प हुँदा म्यूजिक भिडियोलाई समय दिइरहेका आर्यन फिल्म र म्यूजिक भिडियोलाई आफूले फरक गरेर नहेरेको र यसरी छुट्याए काम राम्रो ननिस्कने बताउँछन् । आफूलाई क्यामेरा र क्रियूसँग प्यासन भएकाले कोरोना महामारीको समयमा म्यूजिक भिडियोमा अभिनय गरेर आफूलाई व्यस्त बनाउन पाउँदा सन्तुष्टि मिलेको उनले बताए ।

