.jpg)
गत बैशाखमा पूर्वको लेटाङमा शुभमुहूर्त गर्दै निर्देशक सुरेन्द्र पौडेलले फिल्म ‘बाबरी’ को छायांकन सुरु गरेका थिए । तर, कोरोना महामारीको दोस्रो लहर भयावह रुपमा फैलिएपछि नेपालमा एउटा गीत मात्र खिच्न बाँकी राखेर छायांकन पोस्टपोन्ड गरियो । बिहीवारबाट फिल्मको दोस्रो चरणको छायांकन सुरु भएको छ । अहिले काठमाडौंमा फिल्मको गीतको छायांकन भइरहेको छ ।
गीतको छायांकन सकिएपछि फिल्मको बाँकी छायांकन भारतको दार्जिलिङमा गरिने निर्मात्री पुष्पा बुढाथोकीले जानकारी दिइन् । भाइटीकाको भोलीपल्ट (कात्तिक २१ गते) निर्माण टिम दार्जिलिङ जानेछ । फिल्मको छायांकन अधुरैमा रोकिएपछि मुम्बई गएकी अभिनेत्री अदिती बुढाथोकी दशैंअघि नेपाल आएकी थिइन् । यो फिल्ममा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिएको छ ।
‘बाबरी’ मा नेपाली फिल्मकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा धिरज टोटलानीको पनि मुख्य भूमिका रहेको छ । नेपालमा उनको भागको छायांकन पूरा भइसकेको छ । अब उनी बाँकी छायांकनका लागि मुम्बईबाट सिधै दार्जिलिङ जानेछन् । फिल्ममा तृप्तीको पनि अभिनय रहने बताइएको छ । फिल्मलाई यस वर्षको अन्तिम (नयाँ वर्ष) मा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य छ ।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहेको छ । पहिला यो फिल्ममा अभिनेत्री अदिती बुढाथोकीको अपोजिटमा गायक नितेशजंग कुँवर अनुबन्धित भएका थिए । तर, सुटिङमा निस्कने समयमा उनले पारिवारिक कारण देखाउँदै फिल्ममा काम नगर्ने निधो गरेपछि धिरज मगर भित्रिएका हुन् ।

