
कुनै पनि कलाकारलाई आफ्नो करिअर अगाडि बढाउन हिट फिल्मकोे खाँचो अनिवार्य हुन्छ । आफूले अभिनय गरेको फिल्म असफल हुँँदा त्यसको सिधा असर करिअरमाथि पर्ने गर्छ । यसैले पनि कलाकारहरु सधैं सफलताको भोका हुन्छन् । तर, सबैलाई कहाँ सजिलै सफलता मिल्छ र ? अभिनेत्री रुविना थापालाई नै हेरौन, उनका लागि सफलता ‘आकाशको फल’ झैँ भइरहेको छ ।
दुई वर्ष अगाडि फिल्म ‘लभ डाइरीज’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । रिलिजपूर्व मिडियामा उनको राम्रै चर्चा थियो । फिल्ममा पनि उनले राम्रो काम देखाएकी थिइन् । दर्शक र सीमक्षकले उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरेका थिए । तर, फिल्मले हलमा घुँडा टेकेपछि रुविनाको काम पनि छाँयामा पर्यो । यसको एक वर्ष उनी फिल्मविहीन नै भइन् ।
गत वर्ष काठमाडौं सम्पन्न दशौं ‘नेफ्टा अवार्ड’ मा उनले सलोन बस्नेतको जोडी भएर नृत्य प्रस्तुत गरेकी थिइन् । त्यसबेलादेखि उनी सलोन र उनको पिता शोभित बस्नेतसँग नजिक छिन् । फलस्वरुप शोभितले नयाँ फिल्म ‘डाँडाको वर पीपल’ मा रुविनालाई अभिनेत्रीको रुपमा लिए । गत असोज २६ गतेदेखि यो फिल्म सिनेमा घरमा प्रदर्शनरत छ । तर, हलमा फिल्म हेर्ने दर्शक छैनन् ।
यो फिल्मबाट रुविनाले अभिनयमा आफ्नो छाप छाड्न पनि सकेकी छैनन् । ‘ब्याक टू ब्याक’ दुई फिल्मको असफलताले उनलाई ‘फ्लप हिरोइन’ को ट्याग लागेको छ । तर, ‘डाँडाको वर पीपल’ सुपरफ्लप भए पनि शोभित आफ्नो निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा उनलाई दोहोर्याउने तयारीमा छन् । यो फिल्मले उनको ‘फ्लप श्रृंखला’ मा पूर्णविराम लगाउने काम गरोस्, शुभकामना ।

