
बलिउड सुपरस्टार सैफ अली खान र रानी मुखर्जी करीब १२ वर्षको अन्तरालपछि एकसाथ ठूलो पर्दामा देखिँदैछन् । यशराजको नयाँ फिल्म ‘बन्टी और बबली २’ मा उनीहरु एकसाथ देखिन लागेका हुन् । सोमवार यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ११ सेकेण्डको ट्रेलर इन्टरटेनिङ र इन्गेजिङ छ । ट्रेलरमा सक्कली र नक्कली बन्टी र बबलीबीचको लडाइँ देखाइएको छ ।
एकातिर पुरानो बन्टी र बबलीको रुपमा रानी र सैफ छन् भने अर्कोतिर नयाँ बन्टी र बबली बनेर सिद्धान्त चतुर्वेदी र शरवरी वाघ देखिएका छन् । फिल्ममा पुलिसको भूमिका पंकज त्रिपाठीले निर्वाह गरेका छन् । सिद्धान्त र शारवरी बन्टी र बबलीको नामबाट लुटपाट गर्छन् । यसपछि पुलिसले पुरानो बन्टी र बबली (सैफ र रानी) लाई समात्छ । ट्रेलर हेर्दा फिल्म पैसा असुल देखिन्छ ।
फिल्ममा रानी मुखर्जी गृहणी महिला विम्मी त्रिवेदीको भूमिकामा छिनन् भने सैफले राकेश त्रिवेदीको भूमिका निर्वाह गरेका छन् । उनीहरुको एक छोरा पनि छन् । आउँँदो १९ नोभेम्बरमा प्रदर्शनमा आउन लागेको यो फिल्मलाई वरुण वी शर्माले निर्देशन गरेका हुन् । यो फिल्म २००५ मा आएको अभिषेक बच्चन र रानी मुखर्जी अभिनीत सुपरहिट फिल्म ‘बन्टी और बबली’ को सिक्वेल हो ।

