.jpg)
‘बाहुबली’ स्टार प्रभास शनिवारबाट ४२औं वर्षमा प्रवेश गरेका छन् । २३ अक्टोबर १९७९ मा भारतको चेन्नाईमा जन्मिएका उनले आफ्नो १९ वर्ष लामो फिल्मी करिअरमा कयौं सुपरहिट फिल्म दिएका छन् । ‘बाहुबली’ सिरिज उनको करिअरकै सबैभन्दा ब्लकबस्टर फिल्म हो । यही फिल्मबाट उनी संसारभरका दर्शकमाझ चिनिए । यी दुई फिल्मका लागि उनले ५ वर्ष खर्चेका थिए ।
प्रभासले सन् २००२ मा तेलुगू फिल्म ‘ईश्वर’ बाट आफ्नो फिल्मी करिअरको सुरुवात गरेका हुन् । तर, यो फिल्मबाट उनलाई खासै पहिचान मिल्न सकेन । सन् २००४ मा आएको फिल्म ‘वर्षम’ ले भने उनलाई हिरोको रुपमा स्थापित गर्यो । यसपछि उनले ‘पौर्णमि, योगी, मिर्ची, रिबेल, मिस्टर पर्फेक्ट, मुन्ना, बिल्ला, एक निरन्जन’ जस्ता फिल्ममा काम गरे । जसमध्ये प्रायः हिट रहे ।
प्रभासको असली नाम वेन्कट सत्यनारायण प्रभास राजू उप्पलापति हो । उनी खानाका निकै सौखिन हुन् । उनी आफू हिरोमा असफल भए होटल खोलेर विजनेशम्यान हुन चाहन्थे । तर, उनलाई दोस्रो फिल्म ‘वर्षम’ पछि करिअर फर्किएर हेर्नु परेन । आज उनी तेलुगूका सबैभन्दा डिमान्डेड र महंगा अभिनेताको रुपमा चिनिन्छन् । उनी अभिनीत ‘राधे श्याम’ रिलिजको पखाईमा छ ।
उमेरले ४२ वर्षका भए पनि प्रभास अविवाहित छन् । उनको नाम ‘बाहुबली’ मा देवसेनाको चरित्र निर्वाह गरेकी अनुष्का शेट्टीसँग निकै जोडियो । तर, उनीहरुले कहिल्यै प्रेम स्वीकार गरेनन् । यो जोडीले ‘बिल्ला र मिर्ची’ जस्ता तेलुगू फिल्ममा पनि एकसाथ काम गरेको छ । उनीहरुबीच करीब ९ वर्षदेखिको मित्रता छ । ठूलो पर्दामा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन् ।

