.jpg)
तिहारपछि छायांकनमा निस्कन लागेको फिल्म ‘काँडेतार’ मा अभिनेत्री रेविका गुरुङको प्रवेश भएको छ । शनिवार निर्देशक तथा निर्माता नवल खड्काले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा उनको जोडी गौरव पहारीसँग बाँधिनेछ । दशैंअघि नै निर्देशक खड्काले गौरवलाई फिल्मका लागि मुख्य नायकमा अनुबन्ध गरेका थिए । फिल्ममा नवलको पनि अभिनय रहनेछ ।
रेविकाले यसअघि फिल्म ‘मारुनी’ मा अभिनेता पुष्प खड्काको जोडीको रुपमा काम गरेकी थिइन् । फिल्म असफल भए पनि उनको कामको प्रशंसा भएको थियो । यसपछि उनी निर्देशक मिलन चाम्सको ड्रिम्स प्रोजेक्ट ‘गार्खा वारियर २’ मा अनुबन्ध भइन् । यो फिल्म कोरोना महामारीका कारण छायांकनमा निस्कन सकेको छैन । उनी ‘काँडेतार’ लाई लिएर निकै उत्साहित छिन् ।
फिल्मको बारेमा नवल भन्छन्, ‘नेपाल-भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय फिल्मले उठाउनेछ । यसले दुई मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने फिल्मको भाव हो । फिल्मले राष्ट्रलाई पनि झकझकाउने छ ।’ नेपाल र भारत सीमामा खिचिने यस फिल्मलाई नवल र शंकर कार्कीले मिलेर निर्देशन गर्नेछन् ।

