Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरालाई हिरो बनाउँदैछन् विराज भट्ट ?

फिल्मीखबर, काठमाडौं, 2021/10/22
विराज भट्टलाई नेपाली फिल्ममा एक्सनमा नयाँ ट्रेन्ड भित्राउने नायकको रुपमा चिनिन्छ । उनको एक्सन गर्ने शैली नेपालका अन्य नायकभन्दा पृथक छ । यसकारण पनि उनले आफ्नो करिअरमा प्रायः एक्सन फिल्ममै काम गरे र दर्शकमा ‘एक्सन हिरो’ को छवि बनाए । एक समय एक्सन फिल्ममा उनी एकछत्र छाएका थिए । उनको अनुहार पोस्टरमा राखेकै भरमा निर्माता मालामाल हुन्थे ।
 
समयसँगै नेपाली फिल्मको कथा भन्ने शैली परिवर्तन हुनु र एकैखाले एक्सन फिल्मप्रति दर्शकको रुची पनि घट्न थालेपछि उनी अचानक भारतको भोजपुरी फिल्मतिर लागे । उनले करीब ८ वर्ष त आँखा चिम्लिएर भोजपुरी फिल्म मात्रै गरे । बीचमा उनले ‘जय परशुराम’ बाट नेपाली फिल्मबाट कमब्याक नगरेका होइनन् तर दर्शकले पत्याएनन् । यसपछि फेरि उनी भोजपुरीमै व्यस्त बने ।
 
 
भोजपुरीमा पनि डेढ सय बढी फिल्ममा अभिनय गरेपछि उनले भोजपुरी पूर्ण रुपमा छाडेर आफ्नै निर्माण र निर्देशनमा नेपाली फिल्म ‘साङ्लो’ बनाउने निर्णय गरे । तर, विराजको कमब्याकलाई यो फिल्मले सार्थक तुल्याएन । अर्थात्, फिल्म अपेक्षाकृत चलेन । यसपछि उनी फेरि भोजपुरीकै शरणमा पुगे । कोभिडयता उनले ३/४ वटा भोजपुरी फिल्मको छायांकन पूरा गरिसकेका छन् ।
 
पारिवारिक भेटघाटका लागि दशैंअघि नेपालमा रहेका विराजले निर्देशक सुदर्शन थापाको बिहे पार्टीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले ‘साङ्लो’ बनाउन भोजपुरी छाडेर आएको भए पनि कोरोना महामारीपछि भोजपुरीबाट प्रस्ताव आउन थालेकाले कामलाई निरन्तरता दिएको बताएका थिए । उनी फेरि आफ्नै लगानी र निर्देशनमा नयाँ नेपाली फिल्म बनाउने योजनामा छन् ।
 
नेपाली फिल्म क्षेत्रमा झन्डै २ दशक विताइसकेका विराज अब आफ्नो छोरालाई फिल्ममा डेब्यू गराउने तयारीमा रहेको चर्चा छ । उनले दुई छोरामध्ये जेठो छोरालाई नेपाली फिल्मको हिरो बनाउन लागेका हुन् । यो विषयमा विराजले भने मुख खोलेका छैनन् । तर, उनले ‘त्यो कुरा पनि आउला नी’ भन्दै फिल्ममा जेठो छोरालाई डेब्यू गराउन लागेको कुरामा मौन स्वीकृति जनाएका छन् । 
 

Most Visited News (monthly)