नेपाली फिल्मकी लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय अभिनयमा खासै सक्रिय छैनन् । बेला-बखतमा म्यूजिक भिडियो फाट्ट-फुट्ट गरे पनि उनले फिल्ममा अभिनय नगरेको वर्षौ भइसकेको छ । आजभोली उनी अभिनयभन्दा अध्ययनमा व्यस्त छिन् । उमेरले चार दशक नाघेपछि कक्षा ८ बाट अध्ययन सुरु गरेकी उनी गत महिना १२ कक्षाको परीक्षा दिएर बसेकी छन् ।
करिश्माले राजनीतिमा समेत आफ्नो उपस्थिति जनाइसकेकी छन् । डा. बाबुराम भट्टराईले नेकपा माओवादी छाडेपछि आफ्नै संयोजकत्वमा गठन गरेको नयाँ शक्ति पार्टीबाट उनले राजनीतिक यात्रा थालनी गरेकी थिइन् । तर, पार्टीले उचित स्थान नदिएपछि उनले २०७६ सालमा राजनीतिबाट अलग हुने निर्णय गरिन् । त्यसपछि उनी अन्य कुनै राजनीतिक दलसँग आबद्ध भएकी छैनन् ।

पछिल्लो समय उनको झुकाव केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेतिर बढेको देखिन्छ । कक्षा १२ को परीक्षा चलिरहेको समयमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले फोन गरेर आफूलाई परीक्षाको लागि शुभकामना दिएको भन्दै उनले फेसबुकमा स्क्रिनसट नै राखेकी थिइन् । तर, त्यसमा आउटगोइङ कल अर्थात् आफैंले फोन गरेको देखिएपछि उनले उक्त पोस्ट हटाइन् ।
२ दिन अगाडि उनले फेसबुकमा केपी शर्मा ओलीले फेरि १० अक्टोबर (असोज २४) मा आफूलाई फोन गरेको स्क्रिनसट राख्दै ‘बा यतिक्कै भएको होइन रहेछ’ भनेर लेखेकी छन् । दुईपटक प्रधानमन्त्री भइसकेको व्यक्तिले आफू जस्तो सामान्य कलाकारलाई दुई-दुईपटक फोन गरेको भन्दै मख्ख भएकी उनले बुधवार भक्तपुर बालकोट गएर एमाले अध्यक्ष ओलीसँग भेट गरेकी छन् ।
उक्त भेटमा करिश्मासँगै गायिका कोमल ओली र कलाकार जीतु नेपाल पनि थिए । ओलीसँग भेटपछि खिचेको तस्विर फेसबुकमा पोस्ट गर्दै करिश्माले लेखेकी छन्, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा केपी ओलीज्यूलाई धेरै धन्यवाद ।’
कक्षा १२ को परीक्षा चलिरहँदा फोन गरेर शुभकामना दिएपछि केपी ओलीप्रति सम्मानभाव राखेकी करिश्माले दशैंको समयमा उनकै निवासमा पुगेर भेट गरेपछि उनी एमाले प्रवेश गर्न लागेको चर्चा चल्न सुरु भएको छ । तर, उनले यस विषयमा मुख खोलेकी छैनन् । बुझिए अनुसार, असोज २४ गते दोस्रो पटक फोन गरेर केपी ओलीले करिश्मालाई भेट्नका लागि निमन्त्रणा गरेका थिए ।

