अभिनेत्री तथा तमिलनाडुकी दिवंगत पूर्व मुख्यमन्त्री जे. जयललिताको बायोपिक ‘थलाइवी’ गत महिना प्रदर्शनमा आइसकेको छ । फिल्ममा कंगना रनोटले जयललिताको भूमिका निर्वाह गरेकी छन् भने दिवंगत तमिल सुपरस्टार तथा पूर्व सीएम रामचन्द्रन एमजीआरको भूमिका अरविन्द स्वामीले निभाएका छन् । फिल्मले उनीहरुको प्रेम जीवनदेखि राजनीतिक जीवनसम्मलाई देखाएको छ ।
फिल्मदेखि राजनीतिसम्म जयाको जिन्दगीमा एमजीआरको प्रभाव थियो । १९६५ देखि १९७३ सम्म जयललिताको साथमा एमजीआरले करीब २८ फिल्ममा एकसाथ काम गरेका थिए । उनीहरुले अभिनय गरेको पहिलो फिल्म ‘आइराथिल ओरुवन’ १९६५ मा आएको थियो । फिल्ममा काम गर्ने समयमा उनीहरुबीच प्रेम अंकुराएको थियो । जयलाई राजनीतिमा ल्याउन एमजीआरको ठूलो हात छ ।

एमजी रामचन्द्रनसँग जयाको पहिलो भेट फिल्मको सुटिङ सेटमा नै भएको थियो । आफ्नो दोस्रो फिल्ममा नै जयलाई एमजीआरसँग काम गर्ने मौका मिलेको थियो । जयललिताको जीवनी ‘अम्मा जर्नी फ्रम मूभी स्टार टू पोलिटिकल क्विन’ की लेखिका वासन्तीका अनुसार, जयललिताप्रति एमजीआरको सुरुदेखि नै सफ्ट कर्नर थियो । तर, उनीहरुको विवाह हुन सकेन । किनकि, रामचन्द्रनको पहिला नै तीन विवाह भइसकेको थियो ।
एक अन्तर्वार्तामा वसन्तीले भनेकी थिइन्, ‘एमजीआर जयासँग सुरुदेखि नै फेसिनेटेड थिए । जयललिता निकै राम्रो अंग्रेजी बोल्थिन् । फिल्मको छायांकनको समयमा उनी एक कुनामा बसेर अंग्रेजी नोवल पढ्ने गर्थिन् । जया देख्नमा गोरी र सुन्दर थिइन् । खासगरी तमिलनाडुमा यति गोरी युवतीहरु हुँदैनन् ।’एमजीआरले जयललितालाई पार्टीको प्रोपेगेन्डा सेक्रेटरीको जिम्मेवारी दिँदै राज्यसभाको सदस्य बनाएका थिए ।

