Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैं विशेष पाँच फिल्मी गीत, जसले दशैं सम्झाउँछ

फिल्मीखबर, काठमाडौं, 2021/10/14
यतिबेला जताततै दशैंको माहोलले छोपिसकेको छ । यो समयमा दशैं सम्झाउने गीतको कुरा नगर्ने हो भने अपुरो हुन्छ । गीत-संगीतले हरेक पर्व, चाड वा कार्यक्रममा छुट्टै रौनक थप्छ । त्यसैले वर्षेनी दशैं विशेष गीतहरु सार्वजनिक हुने गरेका छन् । तर, कतिपय गीतले स्थायीत्व पाउँदैनन् । केही गीतहरु भने यस्ता छन्, जो वर्षौंदेखि आम मानिसको प्रिय बनेका छन् । सधैं गुञ्जने गरेका छन् ।
 
यहाँ प्रस्तुत छन् पाँच दशैं विशेष फिल्म गीतहरु, जसले दशैं सम्झाउँछ 
 
१. ‘दशैं आयो...’
दशैंको बारेमा गाइएको सबैभन्दा लोकप्रिय गीतमा पर्छ, ‘दशैं आयो..’ । दशैंको बेला यो गीत नबजेको सायदै होला । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘मुग्लान’ मा समावेश यो गीतमा परदेश गएको छोरा घर आएको, छोराको बाटो हेर्ने आमाको वर्णन, जमरा र रातो टीका, गाउँघरमा पिङ खेलेका कुरा गरिएको छ । यो गीतमा दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा देखिएका छन् । 
 
गीतमा उदित नारायण झा, दीपा नारायण झा, नारायण लामा र जुना प्रसाईंको संयुक्त गायन छ । सुरेश अधिकारीको संगीत रहेको गीतका सर्जक लोकनाथ सापकोटा हुन् । अमुल कार्कीको गीतमा एरेञ्ज छ । धन कमाउन परदेश गएका युवाहरुको कथा भन्ने फिल्ममा यो गीत कथावाचनको रुपमा राखिएको छ । दशैंको माहोलमा जब यो गीत बज्छ जो कोहीको मन भारी हुन्छ ।
२. ‘रातो टीका निधारमा टलक्क टल्कियो...’
दशैं आएको अनुभूति गराउने अर्को गीत हो, ‘रातो टीका निधारमा टलक्क टल्कियो’ । यो दुई दशक अगाडि प्रदर्शनमा आएको फिल्म ‘अल्लारे’ को गीत हो । फिल्मलाई अशोक शर्माले निर्देशन गरेका थिए । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर गीतमा प्रस्तुत छन् । सहदेव ढुंगानाको शब्द रहेको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर छ । शम्भुजित बाँस्कोटाले गीतमा संगीत भरेका छन् ।
 
उक्त गीतको रिमेक भर्सन पनि सार्वजनिक भइसकेको छ । दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ मा यो गीतलाई रि-एरेञ्ज गरेर समावेश गरिएको थियो । रिमेक भर्सनमा प्रमोद खरेल र मेलिना राईको स्वर छ । गीतको भिडियोमा फिल्मका अभिनेता अंकित शर्मा र अभिनेत्री साम्रात्री आरएल शाह फिचर्ड छन् । रि-एरेञ्ज गरिएको गीतलाई पनि दर्शकले निकै रुचाएका छन् । 
३. ‘रातो टीका दशैंको जमरा...’
दशैंमा बज्ने सदाबहार गीतमध्येको एक हो, ‘रातो टीका दशैंको जमरा’ । यो गीत डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘मन मन्दिर’ मा समावेश छ । युवराज लामा निर्देशित फिल्मको यस गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह देखिएका छन् । रोमान्टिक भावको यो गीतले पनि दशैं आएको अनुभूति गराउँछ । गीतमा राजेश हमाल निरुताको दिलको कोठामा डेरा सर्ने कुरा गरेका छन् ।
४. ‘यसपाली पनि परदेशमै वित्ने भो दशैं तिहार...’
परदेशीको पीडा बोल्ने यो गीत फिल्म ‘देशदेखि विदेशसम्म’ को हो । दशैंबारे गाइएको यो सदाबहार गीतमा विदेशमा बसेका नेपालीहरुले दशैं मनाएको र दशैंमा नेपाल सम्झेका पलहरुलाई उनिएको छ । गीतमा रामकृष्ण ढकालको स्वर छ । निकै मार्मिक यस गीतमा अभिनेता निखिल उप्रेतीलगायतका कलाकारहरुको अभिनय छ । फिल्मका निर्देशक भने नरेन्द्र थापा हुन् । 
५. ‘लै बरी लै लै...’
यो गीत दुई दशक अगाडिको तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘लहना’ मा समावेश छ । दशैं आएको सम्झाउने यो गीतमा दशैंको वातावरण चित्रण गरिएको छ । गीतमा अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान फिचर्ड छन् । गीतको शब्द तुलसी घिमिरेले लेखेका हुन् भने संगीत सचिन सिंहको छ । युट्युबमा राखिएको यो गीतमा गायक र गायिकाको नाम भने उल्लेख छैन ।
Most Visited News (monthly)