
निर्देशक आकाश अधिकारी र निर्मात्री तथा अभिनेत्री उमा गिरीले पहिलो पटक फिल्ममा सहकार्य गर्ने भएका छन् । बडा दशैंको अवसर पारेर उनीहरुले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ‘कृत-काब्या’ को घोषणाा गरिएको छ । प्रेमकथामा निर्माण हुन लागेको फिल्मलाई आकाश स्वयंले निर्देशन गर्नेछन् भने कथा पनि उनले नै लेखेका हुन् । दशैंपछि फिल्मको सुटिङ सुरु हुनेछ ।
फिल्मका लागि कलाकारको भने टुंगो लागिसकेको छैन । तर, उमाकी छोरी शिवानी मुख्य भूमिकामा देखिन सक्ने प्रवल सम्भावना छ । यस विषयमा उनी भन्छिन्, ‘फिल्ममा दुई जना टिनएजरको मुख्य भूमिका रहनेछ । दुवैको राम्रो क्यारेक्टर छ । तर, फिल्ममा शिवानीको अभिनय हुन्छ वा हुँदैन टुंगो भइसकेको छैन ।’ शिवानीले फिल्म ‘कहिँ कतै’ बाट नायिकाको रुपमा डेब्यू गरेकी थिइन् ।
उमाले यसअघि ‘कहिँ कतै, इशारा’ लगायतका फिल्म बनाइसकेकी छिन् । उता निर्देशक अधिकारी लकडाउनपछि अभिनेता द्वय सौगात मल्ल र शिव श्रेष्ठलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा थिए । तर, फेरि कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि फिल्मको छायांकन पोस्टपोन्ड भयो । अब उनले यो फिल्मभन्दा अगाडि उमासँग मिलेर फिल्म ‘कृत-काब्या’ बनाउने भएका छन् ।
आकाश र उमाको यसअघि ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ गीतको म्यूजिक भिडियोमा सहकार्य भएको थियो । भिडियोलाई आकाशले निर्देशन गरेका थिए भने उनी स्वयंको अभिनय थियो । उनको जोडीको रुपमा उमा गिरी देखिएकी थिइन् । हिन्दी र नेपाली दुई भाषामा निर्माण हुन लागेको फिल्मको छायांकन नेपाल र भारतको सिक्किममा गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

