Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के शोभित बस्नेतले राजेश हमाललाई ढोगेका थिए ?

फिल्मीखबर, काठमाडौं, 2021/10/11
केही समययता निर्देशक शोभित बस्नेत चर्चा र विवादमा छाएका छन् । आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’ को ‘काट्दिम्ला जुँगा जम्मै’ गीत सार्वजनिक कार्यक्रममा उनले ‘भुवन केसी मात्र नेपाली फिल्म क्षेत्रको असली महानायक’ भनेपछि उनी विवादमा तानिए । फिल्म क्षेत्रमा एक रुपैयाँ पनि लगानी नगरेकाले यो उपाधिको हकदार राजेश हमाल हुन नसक्ने उनको स्पष्ट तर्क थियो ।
 
उनको यो अभिव्यक्तिले सामाजिक सञ्जाल यति तात्यो कि उनी निर्देशित फिल्मलाई बहिस्कार गर्नेसम्मका कुरा दर्शकले उठाए । लाखौंको लगानीमा बनेको फिल्म दर्शकले नहेर्ने भनेपछि शोभित नराम्रोसँग तर्सिए । यसपछि उनले फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा राजेश हमालको तस्विरलाई प्रमुख अतिथी बनाएर आफ्नो बुझाइ गलत रहेको बताउँदै दर्शकसँग माफी नै माग्न भ्याए ।
 
 
उनले अबदेखि राजेश हमाललाई ‘महानायक’ र भुवन केसीलाई ‘सुपरस्टार’ भन्ने वाचा नै गरेका छन् । गत हप्ता पत्रकार प्रकाश सुवेदीले ‘महानायक’ विवाद टुंग्याउन निर्देशक बस्नेतलाई राजेश हमालसँग भेट गर्ने माहोल जुराइदिए । २ घन्टा लामो भेटमा हमालले शोभितलाई ‘सम्झाइ बुझाइ’ गरेको भिडियो क्लिप यतिबेला सामाजिक सञ्जाल टिकटकमा व्यापक भाइरल भएको छ । 
 
योसँगै शोभितको टाउकोमा राजेश हमालले हात राखेको भिडियो पनि सामाजिक सञ्जालमा कम्ता भाइरल छैन । राजेश हमालसँँग माफी माग्दै शोभितले टाउको झुकाएरै ढोगेको भन्दै उक्त भिडियोलाई धेरैले टिकटकमा पोस्ट गरेका छन् । तर, सोमवार शोभितले फेसबुकमा आवाजसहितको सोही भिडियो पोस्ट गर्दै राजेश हमालले आफ्नो टाउकोमा हात राख्नुको वास्तविकता खोलेका छन् । 
 
भिडियोमा हमालले शोभितलाई सोधेका छन्, ‘हेयर स्टाइल तपाईंले प्रत्येक दिन चेन्ज गर्नुहुन्छ ?’ जवाफमा शोभित हाँस्दै भन्छन्, ‘प्रत्येक दिनभन्दा पनि चेन्ज भइरहेको छ ।’ हमाल फेरि सोध्छन्, ‘कपालले साथ दिइरहेको छ ?’ शोभित फेरि जवाफ फर्काउँछन्, ‘हजुर, साथ दिइरहेको छ ।’ राजेश हमाल फेरि सोध्छन्, ‘कपाल आफ्नै हो नी ?’ शोभितले ‘आफ्नै हो’ भनेर जवाफ फर्काउँछन् । 
 
शोभितले आफ्नो कपाल सक्कली भएको बताएपछि हमालले ‘तानौ न त’ भन्छन् अनि शोभित जुरुक्क उठेर हमाल भएतिर आफ्नो टाउको झुकाउँछन् । हमालले शोभितको टाउकोमा हात राखेर उनको कपाल तानेपछि ‘कपाल आफ्नै रहेछ’ भन्दै उनी हाँस्छन् । आवाजविनाको भिडियो हेरेकै भरमा शोभितले राजेश हमाललाई ढोगेको भनेर गरिएको अनुमान यो भिडियोले गलत पुष्टि गर्छ । 
 
तर, शोभितले फेसबुकमा पोस्ट गरेको भिडियोमा उनी राजेश हमालसँँग आमने-सामने भएर कुराकानी गर्दा निकै नर्भस देखिएका छन् । हमालले सोधेको प्रश्नमा उनले अप्ठ्यारो र असहज तरिकाले जवाफ फर्काएका छन् । उक्त भेटमा उनले अब कहिल्यै ‘महानायक’ विवाद नझिक्ने वाचा गर्नुका साथै पहिला नजानेर, नबुझेर वा आवेशमा भनेका कुरामा हमालसँग माफी मागेका थिए ।  
 

Most Visited News (monthly)