Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ को सद्भावना दुतमा विजय लामा

फिल्मीखबर, काठमाडौं, 2021/10/10
कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा उदाएको ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ को सदुभावना दुतमा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन तथा कलाकार विजय लामा नियुक्त भएका छन् । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनलाई सद्भावना दुतमा नियुक्त भएको प्रमाणपत्र प्रदान गरियो ।
 
कार्यक्रममा कलाकार लामाले नेपालको कला, संस्कृतिलाई विश्वमाझ पुर्‍याउन डेल्फिक काउन्सिलको माध्यमबाट आफूले सकेको प्रयास गर्ने बताए । विश्वले आफ्नो देशको कला संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न विशेष ध्यान दिएको तर नेपालमा यो हुन नसकेकोमा गुनासो पोखे । उनले नेपालका कला, संस्कृतिलाई विश्वमाझ पुर्‍याएर पर्यटन भित्राउन सक्ने पनि बताए ।
 
 
आइतवार ‘नेशनल डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टरको कार्यसमितिलाई पनि चिनाइएको छ । देव बिएलको नेतृत्वमा काउन्सिलको नेपाल कार्यसमिति गठन भएको हो । काउन्सिलको उपाध्यक्षमा जिवन कुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ, सदस्यहरुमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहेका छन् । त्यस्तै, सल्लाहकारमा संस्कृतिविद् बदनलाल न्याछोर, पर्यटनविद् तथा नेपाल पर्यटन बोर्डका पूर्व निर्देशक कृष्ण कुमार अर्याल, नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी, अधिवक्ता सर्वज्ञराज नायो, कानुनी सल्लाहकारमा आशिष शर्मा रहेका छन् ।
 
नेशनल डेल्फिक काउन्सिल नेपाल’ ले बरिष्ठ मानार्थ र मानार्थ सदस्यता पनि वितरण गरेको छ । शताब्दी पुरुष मानिने बरिष्ठ साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई काउन्सिलले आइतवार विहान उनकै निवासमा गएर बिशिष्ठ मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरेको हो । मानार्थको सदस्यता प्राप्त गरेपछि भिडियो सन्देशमार्फत् संस्कृतिविद् जोशीले नेपालको कला र संस्कृतिलाई विश्वमाझ पुर्‍याउन काउन्सिलले महत्त्वपूर्ण भूमिकामा खेल्नेमा विश्वास व्यक्त गरे ।
 
त्यस्तै, फिल्म क्षेत्रबाट नेपालको पहिलो नायिका भुवन चन्द, हास्यसाम्राज्ञी बसुन्धरा भुषाल, बरिष्ठ अभिनेत्रीहरु मिथिला शर्मा, शर्मिला मल्ल र सूर्यमाला खनाल, बरिष्ठ अभिनेताहरु शिव श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, सरोज खनाल र कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र बरिष्ठ निर्देशक मोहन निरौललाई मानार्थ सदस्यता प्रदान गरियो भने चित्रकलाबाट जया शर्मा, जात्रा तथा संस्कृतिविद् मनोज नेवा र उपन्यासकार निजिरोष श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । 
 
जर्मनीको बर्लिनमा ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को हेडक्वाटर रहेको छ । यसका संस्थापक तथा सेक्रेटरी जनरल क्रिष्टियन बि. कर्ष हुन् । कर्षले नेपाल च्याप्टरलाई बधाई र सफलताको भिडियो सन्देश पठाएका थिए । कार्यक्रममा प्रस्तुत सन्देशमा उनले सोह्र सय बर्षदेखि शुन्य अवस्थामा रहेको डेल्फिक काउन्सिललाई तीस बर्ष अगाडी पुनस् सुचारु गरेको तथा तीस बर्षमा नेपालसम्म आईपुगेकोमा खुशी व्यक्त गरे । प्राचिन समयमा ग्रीसबाट ओलम्पिक सँगै शुरु भएको डेल्फिक बिभिन्न कारणले बन्द भएको थियो । प्राचिन ग्रीसका शासकहरुद्वारा यि दुवैमाथी रोक लगाईएको थियो । ओलम्पिक सन् १८९४ मा पुनस् शुरु भयो भने डेल्फिक त्यसको एक सयबर्ष पछि सन् १९९४ मा पुनस् सुचारु भएको थियो । प्राचिन ग्रीसको डेल्फी भनिने स्थानबाट डेल्फिक सुरु भएको मानिन्छ ।
 
 
विश्वमाझ नेपालको कला, संस्कृतिका ६ विधालाई प्रस्तुत गर्ने साझा प्लेटफर्मको रुपमा ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ स्थापना भएको अध्यक्ष श्रीदेव विएलले बताए । उनले कार्यक्रममा भने, ‘कुनै पनि राष्ट्रको पर्यटन प्रवर्द्धनका लागि होस् वा देशलाई चिनाउने सन्दर्भमा होस्, कला, साहित्य, संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ । काउन्सिल नेपालले यिनै कुराहरुलाई विश्वमाझ पुर्‍याउन भूमिका खेल्नेछ ।’
 
हरेक चार वर्षमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलले संसारका विभिन्न देशमा आयोजना गर्ने ‘वर्ल्ड कन्भेन्सन’ मा नेपालको प्रतिनिधित्व गर्दै काउन्सिलले नेपालको कला, सँस्कृतिलाई प्रस्तुत गर्ने अध्यक्ष विएलले बताए । काउन्सिलले कलाका विभिन्न विधालाई एउटै छातामा समेट्न प्रयास गर्ने उनको भनाई छ । उनका अनुसार, नेपालसहित यो काउन्सिलको १ सय ४७ देशमा स्थापना भइसकेको छ ।
Most Visited News (monthly)