.jpg)
टि-सिरिज र कलर येलो प्रोडक्सनले अनिरुद्ध अय्यरको निर्देशनमा निर्माण गर्न लागेको फिल्म ‘एक्सन हिरो’ का लागि आयुष्मान खुरानालाई रोजेको छ । आनन्द एल राय, भूषण कुमार र कृष्ण कुमारले निर्माण गर्ने यस फिल्ममा काम गर्नका लागि आयुष्मान उत्साहित छन् । पहिलो पटक एक्सन अवतारमा प्रस्तुत हुन लागेका कारण यो फिल्म उनका लागि निकै चुनौतीपूर्ण मानिएको छ ।
फिल्मको बारेमा आयुुष्मान भन्छन्, ‘म तेस्रो पटक आनन्द एल राय सरसँग फिल्ममा काम गर्नका लागि रोमान्चित छुु र मलाई विश्वास छ कि ‘एक्सन हिरो’ बाट दर्शकलाई मनोरञ्जन दिने हाम्रो प्रयास सफल हुनेछ । मलाई फिल्मको स्क्रिप्ट एकदमै मन पर्यो । दर्शकलाई पनि फरक लाग्नेछ । यो फ्रेस छ, विघटनकारी छ र यसमा फिल्ममा हुनुपर्ने सबै गुण छ जसका लागि मलाई चिनिन्छ ।’
त्यस्तै, फिल्मको घोषणा गर्दै टि-सिरिजका प्रमुख भूषण कुमारले आयुष्मान एक्सन हिरोको चरित्रमा फिट हुने बताएका छन् । उनले चौथो पटक आयुष्मानसँँग सहकार्य गरेका हुन् । निर्माता आनन्द एल रायले आफूले पहिलो पटक यो जनराको फिल्ममा काम गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् । सन् २०२२ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको यो फिल्मको छायांकन भारत र यूकेमा गरिनेछ ।

