Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘सत्यम्’ मा मलिकाको इन्ट्री, बाँधिनेछ पलसँग जोडी

फिल्मीखबर, काठमाडौं, 2021/10/09
अभिनेत्री मलिका महतले लामो समयको अन्तरालपछि नयाँ फिल्म साइन गरेकी छन् । अभिनेता राजेश हमालको मुख्य भूमिका रहने फिल्म ‘सत्यम्’ मा उनी अनुबन्ध भएकी हुन् । फिल्ममा उनको जोडी अभिनेता पल शाहसँग बाँधिनेछ । गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको म्यूजिक भिडियोमा अभिनय गरेपछि दर्शकको ‘फेभरेट’ बनेको यो जोडीले पहिलो पटक फिल्ममा एकसाथ काम गर्न लागेको हो । 
 
 
फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी मलिकाले यसपछि फिल्म ‘पानीफोटो’ मा काम गरेकी थिइन् । यो फिल्म प्रदर्शनमा आउन बाँकी छ । कोरोनाकालमा अभिनय गरेको म्यूजिक भिडियोबाट दर्शकको ठूलो वर्गमा चिनिएकी उनको यतिबेला फिल्म र म्यूजिक भिडियोमा ठूलो माग छ । ‘सत्यम्’ को कथावस्तु र आफ्नो भूमिका मन परेपछि उनी काम गर्नका लागि राजी भएकी हुन् ।
 
उनी पहिलो पटक फिल्ममा राजेश हमाल र पल शाहसँग स्क्रिन शेयर गर्नका लागि निकै उत्साहित छन् । यो फिल्मबाट आफूले धेरै कुरा सिक्न पाउने उनको विश्वास छ । शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्ममा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ । पर्दामा दर्शकले राजेश हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । फिल्ममा हमालको चार फरक लुक्स रहनेछ ।
 
नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने ‘सत्यम्’ लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै फिल्मका निर्माता हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्मका सह-निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् । त्यस्तै, लाईन प्रोड्युसरमा रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी छन् । फिल्ममा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह-संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, फिल्मको डिओपीमा बिदुर पाण्डे ‘नबिन’ छन् । 
 
फिल्मको प्राविधिक पाटोमा नेपालको एकमात्र रेड क्यामेराको आधिकारिक कम्पनी ‘मल्टी म्याट’ जोडिएको छ । फिल्मका प्राविधिक सल्लाहकार जीवन थापाका अनुसार ‘मल्टी म्याट’ ले छायांकन सामग्रीहरु तथा सम्पादन, भिएफएक्स लगायत पोस्ट प्रडक्शनको सबै काम गर्नेछ ।
 
फिल्मको प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह-निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामाङ रहनेछन् भने रामजी लामिछाने कोरियोग्राफी गर्नेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहनेछ । मुख्य सहायक निर्देशकमा शंकर धिताल र रामशरण कोइराला छन् । फिल्मको एक्सन सिन खिच्न निर्माण टिमले पोखरामा भव्य सेट निर्माण गरेको छ ।
 
 
 यो फिल्मबाट राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । यसकारण पनि ‘सत्यम्’ निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको छ । आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । निर्देशक शंकर कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।
 
‘सत्यम’ मा दक्षिण भारतीय फिल्महरुमा उदाइरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहनेछ । निर्माता सापकोटाका अनुसार, यो फिल्मबाट सिजापतिले नेपाली फिल्ममा डेब्यू गर्दैछन् । सिजापति नेपालमा फिजिकल मोटिभेशनल ट्रेनरको रुपमा परिचित छन् । उनले दक्षिण भारतिय सुपरस्टार अभिनेता गोपीचन्दको एक फिल्ममा नेगेटिभ भुमिकामा अभिनय गरिसकेका छन् भने अन्य दक्षिण भारतीय फिल्महरुमा अभिनय गर्दैछन् ।
 
यो फिल्मबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यू गर्दैछन् । यी सबै कलाकारहरु अडिशनबाट छानिएका हुन् ।
Most Visited News (monthly)