
अघिल्लो र पछिल्लो पुस्ताका ९ जना अभिनेत्रीहरुलाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मानित गरिएको छ । रेजिना उप्रेतीको रेजिना इन्टरटेनमेन्ट प्रा.ली र बिमला केसीको शहीद फिल्मस् प्रा.लीले बिहीवार चलचित्र विकास बोर्डको सभा हलमा आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले अघिल्लो पुस्ताका चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान प्रदान गरिन् ।
त्यस्तै, पछिल्लो पुस्ताका अभिनेत्रीहरु केकी अधिकारी, सुरक्षा पन्त, नीता ढुंगाना, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासना सिंह ठकुरी पनि सम्मानित भएका छन् । कलाकारिताको माध्यमबाट नेपाली फिल्म क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो । २०७६ सालमा पहिलो पटक आयोजना गरिएको ‘राष्ट्रिय नवदुर्गा सम्मान’ गत वर्ष कोरोनाका कारण हुन सकेको थिए ।
कार्यक्रममा बोल्ने क्रममा ऊर्जामन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढेको बताउँदै कोरोना महामारीका कारण नेपाली फिल्म क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘नवदुर्गा सम्मान’ बाट सम्मानित हुने ९ जना अभिनेत्रीहरुले अभिनय गरेका एक–एकवटा फिल्मका गीतमा अन्य कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

