Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा छैन नेपाली फिल्म, ओटीटीमा भने ‘एक’

फिल्मीखबर, काठमाडौं, 2021/10/08
कोरोनाका कारण दोस्रो पटक साढे पाँच महिनादेखि बन्द रहेका सिनेमा हल असोज २१ गतेबाट खुलेका छन् । तर, हलमा नेपाली फिल्म लागेका छैनन् । निर्माताहरुले तत्काल फिल्म रिलिज गर्न नमानेपछि मल्टीप्लेक्सदेखि सिंगल थिएटरसम्मले हलिउड फिल्म ‘फास्ट एन्ड फ्यूरियस ९’ प्रदर्शन गर्दै हलको पर्दा उघारेका हुन् । हलमा नेपाली फिल्म हेर्न २६ गते (फूलपाती) सम्म पर्खिनु पर्नेछ ।
 
हल खुलेकै दिन ओटीटी प्लेटफर्ममा भने ‘एक’ नामक फ्रेस फिल्म रिलिज भयो । नेपालमा खासै बलियोसँग थिंग्रिन नसकेको ओटीटीमा फिल्म रिलिज गर्ने रिक्स उठाउने निर्देशक हुन्, मनोज पण्डित । विश्वमा ओटीटी प्लेटफर्म हलको विकल्पको रुपमा उदाएको अवस्थामा नेपालमा पनि यसलाई स्थापित गर्न उनले ‘एक’ लाई हलमा नलगाई ओटीटी प्लेटफर्ममा रिलिज गरेका हुन् ।
 
 
२ घन्टा १५ मिनेट लम्बाईको यो फिल्मलाई १ सय ९९ रुपैयाँ तिरेर डिजिटल प्लेटफर्म सिनेमा घर एप, भाए टिभी, म्याक्स टिभी, नेट टिभी, एक्स भोड् र डिसहोमको च्यानल नं. ५५५ मा घरमै बसेर हेर्न सकिन्छ । ओटीटीमा रिलिजको पहिलो दिन फिल्म हेर्ने दर्शकको सुखद उपस्थिति रहेको बताउँँदै निर्देशक पण्डितले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया मिलेको पनि जानकारी दिए ।
 
विदेशी षड्यन्त्र र हस्तक्षेपबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकाय (रअ) जतिसक्दो चाँडो स्थापित गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो फिल्मले ‘सीएसआई’ नामक एउटा जासूसी निकायको परिकल्पना गरेको छ । देश जोगाउन एउटा इमान्दार एजेन्टको संघर्षको कथामा फिल्म आधारित छ । विशाल पोखरेल, ज्योत्सना योगी र प्रमोद अग्रहरी फिल्ममा मुख्य भूमिका छन् । 
 
फिल्मको कथा निर्देशक पण्डित आफैंले लेखेका हुन् । आत्मा गुरागाइँ र सोफी थापा निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, भरतमणी रेग्मीले सम्पादन र प्रमोद खड्काको द्वन्द्व निर्देशन छ । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको ‘एक’ मा सवीर चुरौते, प्रमोद खड्का, विश्वान्त पोखरेल, मदन ठाकुर, सुरेश शाह, रामशरण पाठक, हरोण अलीको पनि अभिनय छ ।
Most Visited News (monthly)