Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड फिल्म देखाउँदै पाँच महिनापछि खुले हल

फिल्मीखबर, काठमाडौं, 2021/10/07
कोरोना महामारीका कारण पहिलो लकडाउनमा नेपालका सिनेमा घर करीब ९ महिना पूर्ण रुपमा बन्द रहे । गत वर्षको पुष अन्तिममा सरकारले सिनेमा हललाई सञ्चालनको अनुमति दिए पनि कोरोनाको दोस्रो लहर सुरु भएपछि तीन महिनामै हल बन्द भए । संक्रमण रोकथामका लागि बैशाख ६ गते काठमाडौंसहितका प्रशासन कार्यलयले सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो ।
 
संक्रमणको ग्राफ ओरालो लाग्न थालेपछि गत महिना प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा अपनाएर हल खोल्न अनुमति दियो । तर, प्रदर्शनका लागि फिल्म नहुँदा हल बन्दको बन्दै थिए । जब बलिउडका ठूला फिल्मले भकाभक प्रदर्शन मिति घोषणा गरे त्यसपछि हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले दशैंलाई लक्षित गरेर असोज २१ गतेदेखि देशभरका हल खोल्ने निर्णय गर्‍यो ।
 
 
चलचित्र संघको निर्णय अनुसार आज (घटस्थापना) बाट एकाधबाहेक देशभरका सिनेमा हलहरु खुलेका छन् । तर, नेपाली फिल्म नभएकाले हल व्यवसायीहरुले हलिउड फिल्म देखाएर हलको पर्दा उघारेका छन् । मल्टीप्लेक्स र सिंगल थिएटरहरुमा आजबाट हलिउड फिल्म ‘फास्ट एन्ड फ्यूरियस ९’ प्रदर्शनमा आएको छ । कोरोनाका कारण यो फिल्म नेपालमा प्रदर्शन हुन सकेको थिएन ।
 
फिल्म प्रदर्शनका लागि निर्माताहरुलाई आकर्षित गर्न चलचित्र विकास बोर्डले राहत प्याकेजको समेत घोषणा गरेको छ । सिनेमा हल खुलेको तीन महिनाको अवधिभित्र रिलिज हुने नेपाली फिल्मलाई बोर्डले सर्भर इनकोडिङ, पब्लिसिटी, प्रचार सामाग्री छपाई लगायतको शिर्षकमा ७ लाख बराबरको सहयोग गर्दैछ । तर, बोर्डको यो ‘स्किम’ ले निर्माताहरुलाई भने लोभ्याउन सकेको छैन ।
 
५ महिनापछि खुलेको सिनेमा हलमा असोज २६ गते (फूलपाती) बाट नेपाली फिल्म ‘डाँडाको बर पीपल’ प्रदर्शनमा आउँदैछ । नाम चलेका कलाकारहरुको अभिनय रहेकाले दशैं विदामा यो फिल्मले सिनेमा हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । शोभित बस्नेत निर्देशित यस फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा लगायतका कलाकारको अभिनय छ ।
Most Visited News (monthly)