Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हल रहे मात्र हामी रहन्छौं : भुवन केसी

फिल्मीखबर, काठमाडौं, 2021/10/06
यही असोज २१ गते (घटस्थापना) बाट हल खुल्न लागेको र तत्काल प्रदर्शन हुने फिल्मलाई राहत प्याकेजको घोषणा गर्न मंगलवार चलचित्र विकास बोर्डले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । उक्त कार्यक्रममा उपस्थित हुन फिल्म सम्बद्ध संघ-संस्थाले कलाकारहरुलाई आग्रह गरेका थिए । तर, कार्यक्रममा दर्शकले चिनेका कलाकारमा भुवन केसीको मात्र उपस्थिति रहेको थियो ।
 
महामारीले थनिएको फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्मकर्मीहरु एकजुट छन् भन्ने सन्देश प्रवाह गर्न आयोजित कार्यक्रममा कलाकारहरु उपस्थित नहुँदा चलचित्र विकास बोर्डका अध्यक्षदेखि नेपाल चलचित्र संघका अध्यक्षसम्मले असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा भुवन केसीको मात्र उपस्थिति देखेपछि कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले उनलाई ‘ग्रेट म्यान’ को संज्ञा दिए । 
 
 
कार्यक्रमको समापनमा बोल्ने मौका पाएका भुवन केसीले फिल्म क्षेत्रलाई चलायमान बनाउन सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउँदै फिल्म क्षेत्र खुलाउन आफूले फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाका व्यक्तिसँग गएर मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेट गरेको स्मरण गरे । उनले पहिला आफ्नो लडाइँ हलसँग हुने गरे पनि अहिलेको अवस्थामा आफू हलकै पक्षमा रहेको बताए । 
 
उनले भने- ‘पहिला सिनेमा हलसँग मेरो विवाद भइरहन्थ्यो । हलले नेपाली फिल्मभन्दा विदेशी फिल्मलाई पहिलो प्राथमिकतामा राख्यो भनेर हलसँग मेरो लडाईँ सधैं हुँदै आएको छ । तर, आजको दिन चाहिँ म हलको पक्षमा छु । जब सिनेमा हल नै रहँदैन तब न हामी कलाकार रहन्छौं न हाम्रो कलाकारिता रहन्छ ।’ अभिनेता केसीले अब सिनेमा हल कुनै हालतमा बन्द गर्न नहुने बताए । 
 
उनले राज्यको पहिलो प्राथमिकतामा फिल्म उद्योग नपरेकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् । संसारमा हरेक राष्ट्रले आफ्नो फिल्म उद्योगलाई पहिलो प्राथमिकतामा राख्ने गरेको भएता पनि नेपालमा फिल्म उद्योग किन तेस्रो र चौथो प्राथमिकतामा परेको छ ? भनेर उनले प्रश्न गरेका छन् । राज्यको पहिलो प्राथमिकतामा नेपाली कला, संस्कृति, फिल्म र भाषा हुनुपर्ने उनको भनाई छ । 
 
कार्यक्रममा उनले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सक्ने आफूसँग योजना रहेको पनि बताए । उनले भने, ‘अब नेपाली फिल्मलाई नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि लैजानुपर्छ । यसका लागि हामी स्तरीय फिल्म निर्माणमा जोड दियौं । म पनि अंग्रेजीमा सबटाइटल गरेर वा डबिङ गरेर होस् नेपाली फिल्मलाई विश्वभरी पुर्‍याउने उद्देश्यमा लागिपरेको छु ।’ 
Most Visited News (monthly)