Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकाको विन्टर फिल्म फेस्टिभलमा ‘कठपुतली’ ले जित्यो दुई अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2021/10/05
नेपाली हरर फिल्म ‘कठपुतली’ ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जित्न सफल भएको छ । सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो । फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो । 
 
हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’ अमेरिकाको ओटीटी प्लेटफर्ममा आधारित छ । यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक प्रतिष्ठित ओटीटी प्लेटफर्मले रिलिजको अफर गर्नु हो । उक्त फेस्टिभलमा चारवटा फिल्मले मात्र यो अवार्ड जित्न सफल भए । विन्टर फिल्म फेस्टिभलमा यो फिल्मले ‘हरर विधा’ मा हलिउड फिल्मसँग प्रतिस्पर्धा गरेको थियो । 
 
 
फिल्मले दुईवटा अवार्ड जितेकोमा निर्माता पृथ्वी राना मगरले खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने मेरो सपना अन्ततः पूरा भएको छ । यसका लागि मैले २० वर्षदेखि यात्रा सुरु गरेको थिएँ । कयौं पटक निराश पनि भएँ तर फिल्म निर्माणको जोश कहिल्यै कम भएन । यो अवार्डले फिल्म निर्माणमा मलाई थप हौसला दिएको छ ।’
 
फिल्मका निर्देशक भिमसेन लामाले यो सफलताको लागि आफूलाई विश्वास गर्ने फिल्मको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए । सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । अवस्था सामान्य बन्दै गएकाले पुस–माघसम्म फिल्मलाई नेपालमा रिलिज गरिने निर्माता मगरले बताए ।  
 
फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाले बताएका छन् । उनी यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो फिल्म ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’ मा पनि छानिएको छ ।
Most Visited News (monthly)