Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म जोगाउन शोभितले फेरेको बोली !

फिल्मीखबर, काठमाडौं, 2021/10/04
नेपाली फिल्म क्षेत्रमा कलाकारलाई दिइने पदवी विवादको मुख्य जड बन्ने गरेको छ । कोरोना महामारीमा त उपाधिमाथि प्रश्न उठाउनु नै फिल्मकर्मीको काम बन्यो । नेपालमा सबैभन्दा विवादित उपाधि ‘महानायक’ हो । राजेश हमाललाई यो पदवी दिएकोमा उनका समकालीन कलाकारहरु नै खुसी छैनन् । यसैले उनीहरु यो विषयलाई जति सक्दो कोट्याएर विवादमा ल्याउन उद्दत छन् ।
 
गत वर्ष ‘महानायक’ पदवीमाथि प्रश्न उठाउँदा कलाकार दीपाश्री निरौला दर्शकको घेराबन्दीमा परिन् । अघिल्लो हप्ता फिल्म ‘डाँडाको बर पीपल’ को गीत सार्वजनिक कार्यक्रममा शोभित बस्नेतले भुवन केसीलाई ‘महानायक’ र भुवन केसीले शिव श्रेष्ठलाई ‘महानायक’ को उपाधि दिन होडबाजी चलेपछि यो विवाद फेरि सहतमा आयो । अहिले फिल्म क्षेत्र यही विवादमा रुमलिएको छ ।
 
 
भुवन केसी राजेश हमाललाई ‘महानायक’ मान्न तयार छैनन् भन्ने कुरा बच्चालाई पनि थाहा छ । उनले घुमाउरो रुपमा यो उपाधिको हकदार आफैंलाई ठान्छन् । उनको एउटै तर्क हुन्छ, ‘फिल्म क्षेत्रमा मैले सबैभन्दा सफल फिल्म दिएको छु ।’ धेरै सफल फिल्म दिएकाले ‘महानायक’ आफू हुनुपर्ने उनको आशय हुने गर्छ । तर, उनलाई यो उपाधिको हकदार ठान्नेको संख्या ज्यादै कम छ ।
 
‘महानायक’ को विवाद चर्किँदा भुवन केसीको पक्ष लिएर बोल्नेमा पर्छन्, शोभित बस्नेत । उनले हरेक अन्तर्वार्तामा भुवन केसीलाई ‘महानायक’ र राजेश हमाललाई ‘सुपरस्टार’ भन्ने गरेका छन् । ‘डाँडाको बर पीपल’ को गीत सार्वजनिक कार्यक्रममा पनि उनले भुवनलाई ‘नेपाली फिल्म क्षेत्रको एक मात्र असली महानायक’ भनेर सम्बोधन गरे । यसपछि त उनीमाथि गालीको वर्षा सुरु भयो । 
 
‘महानायक’ विवादले प्रदर्शनको मुखमा रहेको फिल्मलाई गम्भीर असर गर्ने बुझेपछि आइतवार ट्र्रेलर रिलिज कार्यक्रममा शोभितले अबदेखि राजेश हमाललाई ‘महानायक’ र भुवन केसीलाई ‘सुपरस्टार’ भन्ने घोषणा गरे । तर, उनले ‘महानायक’ भन्दा ‘सुपरस्टार’ उपाधि नै ठूलो भनेका छन् । राजेश हमाललाई सबैले ‘महानायक’ मानेकाले आफूले पनि मान्ने उनको भनाईको आशय थियो ।
 
‘महानायक’ विवादका कारण ‘डाँडाको बर पीपल’ को गीत र ट्रेलरले भ्यूजको चर्को खडेरी भोगेको छ । दर्शकको ठूलो वर्गले गीत र ट्रेलरको कमेन्ट बक्समा फिल्म नहेर्ने प्रतिक्रिया जनाएको छ । यही डरले गर्दा शोभितले राजेश हमाललाई मुखले ‘महानायक’ स्वीकार गरेर विवादलाई टुंग्याउन खोजेको देखिन्छ । यसैलाई भनिन्छ- ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु ।’
Most Visited News (monthly)